आज : २०७५ जेठ ८ मंगलबार | Today: 22nd Tuesday, 2018

यूएस बंगलाको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रनवेबाट बाहिरिँदा दुर्घटना

(लोकप्रिय संवाददाता)


काठमाडौं, २८ फागुन २०७४ः बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु र ४ जना चालक दलका साथ उडेको यूएस बङ्लाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । रन वेको पूर्वतर्फको मैदानमा विमान दुर्घटनामा परेको विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले बताएका छन् ।


ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजे र २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो । प्रत्यक्षदर्शी चावहिल मैजुबहाल बस्ने मोहनबिक्रम लामाका अनुसार विमान आकाशबाट एकै पटक तल ओर्लियो र ल्याण्ड नभइ साँखुतिर हान्नियो । जहाज फेरी फर्केर घरतिरै ठोक्किएला झंै गरी आयो । ९० डिग्रीमा मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिनमा धुँवा आयो ।


स्थानीय समय अनुसार सवा १२ बजे बंगलादेशको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको एसटु – एजीयू कल साइन रहेको त्यो विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो ।


जहाज दुर्घटनामा परेर आगलागी भएपछि अग्नि नियन्त्रकको ठुलो टोली विमानस्थलको धावनमार्गमा परिचालन भएको थियो । आगलागीमा परी घाइते भएकाहरुमध्ये २० जनाको उद्धार भएको बताइएको छ भने पछिल्लो विवरण अनुसार १७ जना यात्रुको ज्यान गएको छ । तर दुर्घटनाको पूर्ण विवरण भने आएको छैन । घाइतेहरुमध्ये केही सिनामंगलमा रहेको केएमसी अस्पताल तथा केहीलाई हेलिकप्टर मार्फत अन्य अस्पतालमा लगिएको छ ।
अहिले दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रामबहादुर थापा विमानस्थल पुग्नु भएको छ ।