आज : २०७५ जेठ १२ शनिबार | Today: 26th Saturday, 2018

प्रम ओलीलाई तीन चौथाइ बढी बहुमत सहित विश्वासको मतः पक्षमा २०८ र विपक्षमा ६०

काठमाडौं, २८ फागुन २०७४ः प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी बहुमत सहित विश्वासको मत प्राप्त भएको छ । प्रधानमन्त्री नियुक्त भएको एक महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुरुप झण्डै एक महिनापछि प्रम ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मतः पक्षमा २०८ र विपक्षमा ६० प्राप्त भएको छ । 

 

५९ वर्षमा पहिलोपटक २०१५ सालमा बिपी नेतृत्वको कांग्रेस सरकारपछि मुलुकले अहिले आएर आइतबार बलियो सरकार पाएको छ । २०६२/०६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहमतीय आधारमा प्रतिपक्षबिनाको प्रधानमन्त्री बनेका थिए । तर, चुनावी प्रतिस्पर्धापछिको पहिलो बलियो सरकारको नेतृत्व गर्ने मौका ओलीले पाएका छन् ।

 

विश्वासको मतका लागि राष्ट्रपतिबाट मंसिर ३ मा नियुक्त प्रधानमन्त्री ओलीले हिजोमात्रै संसदमा प्रस्ताव राखेका थिए । संसदमा मत विभाजन प्रक्रियाबाट गरिएको मतदानमा ओलीले ७५.६३ प्रतिशत मत पाएका हुन । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ओलीका पक्षमा २ सय ८ मत परेको थियो भने विपक्षमा जम्मा ६० मत परेको थियो । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त भएको घोषणा बैठकमा गरेका थिए ।

 

ओलीको विपक्षमा प्रमुख विपक्षी कांग्रेसले मात्रै मत हालेको थियो । नेमकिपाका प्रेम सुवाल भने तटस्थ बसेका थिए । वामगठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा नियुक्त ओलीलाई मधेस केन्द्रित राजपा नेपाल र संघीय समाजवादी फोरम पनि समर्थन गरेका थिए । एमालेका १ सय २१, माओवादी केन्द्रका ५२ (एक जना सभामुखले मतदान नगरेको), राजपा १६ (रेशम चौधरी सपथ बाँकी), संघीय समाजवादी फोरम १६, एक सिटे राप्रपा राजेन्द्र लिङ्गदेन, राष्ट्रिय जनमोर्चा दुर्गा पौडेल र स्वतन्त्र सांसद छक्कबहादुर मल्लले ओलीका पक्षमा मतदान गरेका थिए । ६३ जना सांसद रहेको प्रमुख विपक्षी कांग्रेसकै ४ जना सांसद मतदानमा अनुपस्थित रहेका थिए । नयाँ शक्तिका डा.बाबुराम भट्टराई पनि विदेशमा रहेकाले मतदानमा अनुपस्थित रहे ।

 

प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री हुनका लागिमात्रै भएको होइन, देशका लागि केही गर्न प्रधानमन्त्री भएको हुँ, भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न ।’ प्रधानमन्त्रीले आफू विश्वासको मत लिएर दमनकारी शासक हुन नखोजेको पनि बताए । ‘दमनकारी शासक होइन, सुशासन दिने शासक हुन चाहन्छु,’ उनको भनाई थियो, ‘सरकार विकासको अग्रणी हुन्छ, भ्रष्टाचार विरोधी हुन्छ, सदाचारको अभियन्ता हुन्छ ।’

 

प्रम ओलीले विपक्षी कांग्रेसलाई संकेत गर्दै आफूले विगत र वर्तमानमा विश्वास गर्नै नहुने कुनै काम नगरेको भन्दै मत मागेका थिए । ‘मलाई विश्वास नगरेर संसदको कुन हातले कता भोट देला र ?,’ उनको भनाई थियो, ‘प्रतिपक्षले सत्तापक्षलाई भोट दिन मिल्छ, २ नम्बर प्रदेशमा एमाले माओवादी विपक्षमा छन् तर मत दिएका छौं । प्रतिपक्षीलाई कुनै अप्ठ्यारो पर्छ कि भन्नुपर्दैन, कानुनी अप्ठ्यारा छैनन् ।’

 

समृद्धिको अगुवाइ सत्तापक्ष र प्रधानमन्त्रीको हिसावले आफूले नेतृत्व गर्ने भए पनि विकासको अभियान सत्तापक्षको मात्र नहुने भन्दै विपक्षीको सहयोग मागे । विपक्षी सांसदहरुले दुई तिहाई बहुमत दुरुपयोग गर्ने आशंका गरेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिंदै भने, ‘मैले दुई तिहाईमात्र होइन, सबैको सहमति जुटाउन खोजेको हो । दम्भका लागि, दुरुपयोगका लागि होइन । म प्रधानमन्त्री नेकपा एमालेको होइन, एमाले र माओवादी केन्द्रको पनि होइन नेपालको प्रधानमन्त्रीको रुपमा काम गर्छु ।’

 

आफूले बोलेका हरेक कुराको जवाफदेहिता लिने बताउँदै प्रधानमन्त्री ओलीले एकछिनका निम्ति असल र राम्रा कुरा गरेर उम्किने हिसाबले प्रधानमन्त्रीको पदमा नआएको स्पष्ट पारे । ‘कुनै एस्क्युज खोज्दिन, उत्तरदायी र जवाफदेही हुने हो,’ चुनावी घोषणापत्रका विषयमा कांग्रेसले उठाएको प्रश्नको जवाफ दिंदै उनले भने, ‘घोषणापत्र बिहान बिहान पारी तरौंला भनेर पाठ गर्न ल्याएको होइन । परलोकको कुरा गरेको होइन, इहलोक बनाउने कुरा गरेको हो ।’

 

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीको ‘काउण्टडाउन’ सुरु भएको भन्दै दिएको चेतावनीप्रति ओलीको भनाई थियो, ‘म सिमाभित्र छु, असीमित ज्ञान, असीमित सामथ्र्य र असीमित समय छैन । तर, इमान, प्रतिबद्धता र अठोट असीमित छन् ।’ देश बनाउने विषयमा चिन्ता नलिन आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘देश बन्छ, ढुक्क भएर सुत्नुहोला, निन्द्रा नबिग्रियोस् ।’ अहिले सरकारले लोकतन्त्र, आधारभूत मूल्य मान्यता मास्ला भनेर आशंका नगर्न आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘प्रतिपक्ष भनेपछि विरोध गर्नुपर्छ भन्ने परम्परा रहेको छ । गुणदोषका आधारमा समर्थन गर्नुहुन्छ भन्ने विश्वास छ ।’

 

आफ्नो सरकारले नेपालको सामाजिक विभेद हुर्काएकोजस्तो आरोप लगाएकोमा ओलीको भनाई थियो, ‘एक महिना भएको छैन, सरकारले अस्ती रोपेर हुर्काएको जस्तो कुरा भयो, कैलालीको घटना थाहा पाउनेवित्तिकै सरकारको तर्फबाट निर्देशन दिएको छु । गिरफ्तार गर्ने आदेश दिएको छु, कानुनबाट दण्डबाट उन्मुक्ति दिन सक्दैन सामाजिक पछौटेपन २५ दिनदेखिको होइन ।’ काठमाडौंको दरबारमार्ग, ललितपुर लगायतका ठाउँमा भएको बलात्कारका घटना मध्यस्थताबाट मिलाएकोमा विरोध गर्दै भने, ‘मध्यस्थताका दिन गए अब कडाईका साथ कारबाही गरिन्छ ।’

(फाईल फोटो)