आज : २०७५ जेठ १२ शनिबार | Today: 26th Saturday, 2018

१० वर्षमा ७ पटक मन्त्री, हाल समाभुख बन्ने भाग्यमानी माओवादी नेता महरा

काठमाडौं, २५ फागुन २०७४ः राजनीतिमा मुलुककै सबैभन्दा बढी चलाख खेलाडी कृष्णबहादुर महरा प्रतिनिधि सभामा अबको ५ वर्षका लागि निर्विरोध सभामुख भएपछि माओवादीमा सबैभन्दा ‘भाग्यमानी’ नेता बन्न पुगेका छन् । नेपाली राजनीतिक वृत्तमा सधैँ सत्ताको दौडमा रहने कांग्रेसका नेता विजय गच्छदारलाई समेत माथ खुवाउने गरी महरा सधैँ शक्ति र सत्तामा बस्ने माओवादी नेता बनेका छन् ।

 

राजनीतिक जीवनमा सभामुख महराले कहिल्यै असफलता देख्नु परेको छैन । माओवादी केन्द्रका नेता महराको राजनीतिक जीवन सधै सत्ताको ‘पेरिफेरी’मै बितेको छ । माओवादी केन्द्रबाट सभामुखमा बलियो दाबेदारी गरेकी ओनसरी घर्तीलाई माथ खुवाउँदै महराले अध्यक्ष प्रचण्डलाई रिझाउन सफल भएका छन् । २०६४ सालपछिको १० वर्ष यता त उनी सत्ताको स्वाद चाखिरहने नेपालकै भाग्यमानी नेतामा पर्छन् । १० वर्षको अवधिमा उनी ७ पटक त मन्त्री नै भइसकेका छन् । 

 

गिरिजाप्रसाद कोइरालाको नेतृत्वका अन्तरिम सरकारमा २०६३ वैशाख १२ गते अन्तरिम विद्यायक बनेका महरा मुलुकमा गणतन्त्र आएपछि पहिलो पटक सूचना तथा सञ्चारमन्त्री भएका थिए । कोइराला सरकारको प्रवक्ता समेत बनेका महरा त्यसपछि लगातार मन्त्री भइरहेका छन् । माओवादी संसद्वादी भासमा परेको आरोप लगाउँदै धेरै नेताहरुले पार्टी छाडेको अवस्थामा महरालाई भने संसदीय राजनीति सबैभन्दा फलिफाप भएको छ ।

 

सभामुख महरा गच्छदारपछिका लगातार पदमा रहिरहने नेता भएका छन् । २०६४ मा भएको संविधान सभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका महरा २०६५ भदौ २० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता बने ।

 

एमाले नेता झलनाथ खनालको सरकारमा २०६७ माघ २३ गते उनी उपप्रधानमन्त्री एवम् सूचना तथा सञ्चार मन्त्री बन्न सफल भए । २०६८ वैशाख २१ गते झलनाथकै पुनर्गठित मन्त्रिमण्डलमा उनी उपप्रधान तथा गृहमन्त्री भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी रोल्पा क्षेत्र नं १ बाट निर्वा्चित भए । २०७३ साउन २० गते प्रचण्ड सरकारमा उनी उपप्रधान तथा अर्थमन्त्री बन्न सफल भए ।

 

शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा २०७४ साल जेठ २४ गते महरा पुनः उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा पुगे । माओवादीले एमालेसंग वाम गठबन्धन बनाएपछि उनी उपप्रधान तथा विनाविभागीय मन्त्रीमा थन्क्याइए । २०७४ सालमा दाङ–२ बाट निर्वा्चित भएका महरा अब प्रतिनिधि सभाको सभामुख भएका छन् । अब पाँच वर्षसम्म उनी शक्तिमै रहनेछन् ।

 

२०४८ सालको प्रतिनिधि सभामा उनी तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट रोल्पाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । २०४८ सालमा जनमोर्चाबाट ९ जना मात्रै निर्वाचित भएका थिए । संयुक्त जनमोर्चा नेपालको तर्फ संसदीय दलको नेता समेत महरा नै भए । माओवादीबाट २०४८ सालपछि लगातार ४ पटक निर्वाचित हुने माओवादीका एकमात्र नेता पनि हुन् महरा ।

 

अन्तरिम संविधान जारीपछि २०६३ पुसमा निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेताको जिम्मेवारी बहन गरे । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचन दाङ(३ बाट निर्वा्चित भए । दाङमा जित्ने अवस्था नभएपछि २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा महरा रोल्पा गएका थिए । रोल्पा क्षेत्र नम्बर–२ मा संविधान सभा सदस्यमा पुनः २०६३ पुसमा निर्वाचित भएका थिए । २०७४ मा वाम गठनबन्धन भएर जित्ने निश्चित भएपछि फेरि दाङ नै फर्किए ।

 

एमाले नेता एव वर्तमान प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल लड्न तयार भएको अवस्थामा दाङ क्षेत्र नम्बर २ मा महरा नै प्रतिनिधि सभामा उम्मेदवार बन्दै सांसदमा निर्वाचित भए ।

 

माओवादी सशस्त्र युद्धकालमा समेत महरा ३–३ पटक वार्ता टोलीमा पनि रहे । पार्टीमा हरेक अवसरमा उनले ‘चान्स’ पाएका छन् । २०५८ सालमा माओवादी र तत्कालीन सरकारसंग पहिलो वार्तामा महराले माओवादीका तर्फबाट संयोजकको भूमिका निर्वाह गरेका थिए । २०६० सालमा उनी दोस्रो वार्ता टोली सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता बने । २०६३ मा तत्कालीन सरकारसँग वार्ताका लागि गठित तेस्रो वार्ता टोलीको संयोजक भएर माओवादी पक्षको उनले नेतृत्व गरे ।

 

रोल्पाको लिवाङ–७ धारापानीमा जन्मिएका महराले २०१५ असार १५ गते पृथ्वीनारायण क्याम्पस पोखराबाट शिक्षाशास्त्रबाट स्नातक तह उत्तीर्ण गरे । महरा २०३५ र ०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय भएका हुन् । २०३६ सालदेखि २०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधिको जिम्मेवारी निर्वाह गरेका महराले २०३७ मा तत्कालीन नेकपा चौथो महाधिवेशनदेखि पार्टीको सदस्यता लिएका थिए ।

 

सभामुख महरा २०३७ सालमा रोल्पा जिल्ला सदस्य बनेका थिए भने २०३९ देखि ४१ सालसम्म अनेरास्ववियूको आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष भए । २०३६ देखि २०४८ सम्म शिक्षण पेशामा हराएका महरा २०४८ सालदेखि नेकपा (मसाल) रोल्पा जिल्ला सेक्रेटरी बने । महराले २०५० सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को क्षेत्रीय संगठन समितिको सदस्यको जिम्मेवारी निर्वाह गरे । २०५१ मा तत्कालीन नेकपा (माओवादी) को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य बनेका महरा जनयुद्धको प्रारम्भिककाल २०५३ असारमा माओवादीको केन्द्रीय सदस्य बन्न सफल भएका थिए ।

 

महरा २०५५ सालमा पोलिटब्यूरो सदस्य बनेका थिए, त्यस्तै २०६२ सालमा माओवादीको स्थायी समिति सदस्य बनेका थिए । २०६५ सालमा पार्टी एकता भएपछि एकीकृत नेकपा (माओवादी)को स्थायी समिति सदस्यका रुपमा क्रियाशील रहे । २०६६ सालमा विदेश विभाग प्रमुख बने । २०६९ मा भएको सातौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख र मध्य ब्यूरो इञ्चार्जको भूमिका निर्वाह गरे । महरा २०७१ मा पार्टीको महासचिव भए । २०७३ देखि हालसम्म उनी पार्टी केन्द्रीय कार्यालय सदस्यको भूमिकामा क्रियाशील छन् ।

(फाईल फोटो)