आज : २०७५ असार ७ बिहीबार | Today: 21st Thursday, 2018

७० प्रतिशत ‘सामुद्रिक माछा’मा प्लाष्टिक: अध्ययन

लण्डन, ८ फागुन (रासस/सिन्ह्वा): उत्तरपश्चिम एटलान्टिक महासागरको गहिराईमा पाइने माछाका प्रजातीका झण्डै दुईतिहाई नमूनामा वातावरणीय प्रदुषणमा महत्वपूर्ण भूमिका रहने गरेको प्लाष्टिकका कणहरू भेटिएको एक अध्ययनले देखाएको छ । यो सामुद्रिक जीवमा प्लास्टिकको अत्यधिक मात्रा पाइएको विश्वका केही उदाहरणमध्ये एक हो । 

उक्त समुद्रमा पाइने माछाका अधिकांश (७३ प्रतिशत) माछाको पेटमा साना साना प्लाष्टिकका टुक्रा भेटिएको हालै सार्वजनिक एक अध्ययनमा जनाइएको छ । 

अध्ययनका लागि नमूनामा लिइएको ४.५ सेन्टिमिटर धब्बावाल ‘ल्यान्टर्नफिस’मा करिब १३ टुक्रा प्लाष्टिक भेटिएको आएरल्याण्ड गालवे विश्वविद्यालयका अनुसन्धानमा सम्लग्न वैज्ञानिकहरूले जनाएका ‘फ्रन्टियर्स इन मरिन साइन्स’ नामक पत्रिकाको मङ्गलबार प्रकाशित अङ्कमा जनाइएको छ । 

विज्ञहरूले अनुसन्धानका लागि एटलान्टिक महासागरकोे करिब ६०० मिटर गहिराईबाट ३.५ सेन्टिमिटर देखि ५९ सेन्टिमिटरका २३३ माछालाई नमूना बनाइएको थियो । तीमध्ये ७३ प्रतिशत माछामा अत्यधिक प्लाष्टिकको मात्रा भेटिएको थियो । यो माछाको अस्तित्वमा नै प्रभाव पार्ने गरी भेटिएको अत्यधिक प्लाष्टिकको मात्रा हो । 

समुद्रमा पुगेका प्लाष्टिकका सामग्री खासगरी प्लाष्टिकका झोलालाई माछा, डलफिन, सिल, तथा सामुद्रिक क्षेत्रमा पाइने पंक्षीजगत् लगायतका सामुद्रिक जनावरले खानाको अभावमा टुक्राएर खाने गरेको पाइएको अध्ययनले जनाएको छ । 

(फाईल फोटो)