आज : २०७५ असार ७ बिहीबार | Today: 21st Thursday, 2018

फ्लोरिडा आक्रमणमा आवश्यक कदम चाल्न नसकेको एफबीआईमाथि आरोप 

अमेरिका, ५ फागुन: फ्लोरिडाको एउटा विद्यालयमा आक्रमण गरेका सन्दिग्ध निकोलस क्रुजले आक्रमणबारे पूर्व संकेत दिए पनि आवश्यक कदम चाल्न नसकेको भन्दै संघीय जाँच निकाय एफबीआईमाथि दवाब बढ्दो छ । फ्लोरिडाका गभर्नर रिक स्कटले एफबीआईका निर्देशकले राजीनामा दिनुपर्ने बताएका छन् भने महान्यायाधिवक्ताले एफबीआइको’असफलता’प्रति दुःख व्यक्त गर्दै समीक्षा गर्न आदेश दिएका छन् ।

 

बुधवारको गोलीकाण्डमा मारिएकाहरूका कतिपय आफन्तले एफबीआईका कामप्रति निराशा व्यक्त गरेका छन् । शुक्रवार राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा बाँच्न सफल मानिसहरूसँग पार्कलैण्डमा भेटघाट गरेका थिए । ट्रम्प र प्रथम महिला मेलानिया एउटा अस्पताल पुगेका थिए ।

 

त्यसपछि उनीहरू घटनाप्रति चालेको कदमका लागि स्थानीय अधिकारीहरूलाई धन्यवाद दिन पुगेका थिए । कानून कार्यान्वयन गराउने अधिकारीहरूलाई ट्रम्पले भने, “तपाईँहरूले सह्राहनीय काम गर्नुभएको छ । तपाईँहरूले गरेका कामका लागि धन्यवादका पात्र हुनुहुन्छ ।”

 

क्रुज उक्त विद्यालयका पूर्वविद्यार्थी हुन् । १९ वर्षीय क्रुजले पार्कलेण्डस्थित मर्जोरी स्टोनमेन डग्लस हाई स्कूलमा बुधवारको आक्रमण आफूले गराएको स्वीकार गरिसकेका छन् । उनीमाथि १७ जनाको हत्या गरेको अभियोग लगाइएको छ । यो अमेरिकी विद्यालयमा गरिएको सन् २०१२ यताकै सबैभन्दा हिंसात्मक आक्रमण हो । उक्त गोलीकाण्डले बन्दुक नियन्त्रण सम्बन्धी बहस पुनः शुरू गराएको छ ।

(फाईल फोटो)