आज : २०७४ फाल्गुण ६ आइतबार | Today: 18th Sunday, 2018

स्थानीय तहले रेडियोसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड

बुटवल, १ फागुन (रासस): संविधान कार्यान्वयनपछि विकास र समृद्धिको यात्रामा नेपालका एफएम रेडियोहरुलाई साथमा लिएर अघि बढ्न आग्रह गरिएको छ । 

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले सातौँ विश्व रेडियो दिवसको अवसरमा बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्ने रेडियो अभियन्ताहरुले स्थानीय तहले रेडियोसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 

‘शान्ति र विकासका लागि सामुदायिक रेडियो’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहले आफैँले सञ्चार माध्यम सञ्चालन गर्न आवश्यक नरहेको बताउनुभयो । जनप्रतिनिधि जनताको सेवक भएकाले स्थानीय तहका लागि छुट्टै सञ्चार माध्यम आवश्यक नभएको उहाँको भनाइ थियो । 

कार्यक्रममा सामुदायिक रेडियो प्रसार संघका अध्यक्ष सुवास खतिवडाले स्थानीय तहलाई सामुदायिक रेडियोसँग सहकार्य गरेर सामाजिक रुपान्तरण, विकास र समृद्धिमा हातेमालो गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा अकोराबका पूर्वअध्यक्ष मोहन चापागार्इं, स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, रेडियो मदन पोखराका संस्थापक अध्यक्ष झपिन्द्र जिसीलगायतले विश्व रेडियो दिवसका अवसरमा शुभकामना दिनुभएको थियो । 

यसैबीच, साताँै विश्व रेडियो दिवसका अवसर पारेर बुटवलबाट बुहारी पत्रकारिता अभियानको सुरुआत गरिएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले बुहारी पत्रकारिता अभियानको सुरुआत गरेको हो । 

बुहारी पत्रकारिता अभियानको ब्यानर अभियानको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले शुभारम्भ गर्नुभयो । ३० जना बुहारीले मैनबत्ती बालेर बुहारी पत्रकारिता अभियानको थालनी गरेका थिए । 

‘जागृत समाजका लागि सामुदायिक सञ्चार, सामाजिक कुरीति अन्त्यका लागि बुहारी पत्रकार’ भन्ने नाराका साथ अभियान शुरु गरिएको अकोराबले जनाएको छ । पत्रकार बुहारीका लागि मंगलबार र बुधबार बुटवलमा तीनदिने तालिम शुरु भएको छ । 

(फाईल फोटो)