आज : २०७५ श्रावण ७ सोमबार | Today: 23rd Monday, 2018

 राजन दाइ: टर्रो तर साहसी चालक 

– नवराज क्षितिज 

 

सायद म छ कक्षामा पढ्थें। उनी मेरा दाजु नाता पर्छन् भन्ने कुरा मैले मेरो दिदीबाट थाहा पाएको थिएँ । अप्ठेरो र साँघुरो बाटोमा जीवन कसैले जोखिममा हाल्थ्यो भने उनैले हाल्थे । अलि कडा र बेफ्वाँक अनि तितो र टर्रो बोली तर सबैको काम गरिदिने चालक हुन् राजन चौंलागाई । सम्भवतः उनैले पहिलो पटक शंखुमा मिनिबस पुर्याएका थिए । विगत लामो समयदेखि शंखुमा आफ्नै मिनिबसका साथै मिनिट्रकहरु चलाउँदै आएका उनले केही समय अगाडि शंखुमै जग्गा किनेर घर पनि बनाएका थिए  । आफूले बनाएको घरमा सायद उनी राम्ररी बस्न पनि नपाउँदै टाढा भए ।  जीवनमा यस्ता पेसा पनि छन् जुन नगर्दा पनि नहुने अनि गर्दा पनि कुन दिन त्यसैले आफ्नो ज्यानै लिन्छ । त्यस्तै भयो उनको जीवनमा । गत विहीबार यस्तै भयो । ललितपुरको दक्षिण भेग हाल कोन्ज्योसोम गाउँपालिका(शंखु) स्थित लाकुरीभन्जयाङ र बाँझचौरबीचको सडकखण्डमा आफैँले चलाइरहेको बा.१ क. ६७४० नम्बरको आइचर मिनीट्रक गाडीको ब्रेक फेल भई दुर्घटनामा परी उनको मृत्यु भयो । गाडीको अवस्था खराब भएपछि यात्रुलाई ओर्लन आग्रह गर्दै उनले गाडी नियन्त्रणमा राख्न खोज्दा उनी असफल भए । तर अरुको ज्यान बचाउन सफल भए । सयौँ चालकका गुरु आज उनी छैनन् तर उनीबाट चालकहरुले सिक्नै पर्ने कुराहरु धैरै छन् । चालक चौंलागाईंका श्रीमती २ छोरा र एक छोरी मध्ये कान्छा छोरा रबीन पनि बाबुकै पेसामा आबद्ध छन् ।