आज : २०७४ फाल्गुण ६ आइतबार | Today: 18th Sunday, 2018

सरकारी तहमा सरकारी गाडीको दुरुपयोग बढ्दोः यातायात अधिकारकर्मी राम बहादुर थापा

 –कमल राज दाहाल “कुमार”

 

नेपालको सरकारी क्षेत्रमा बढ्दै गएको फितलोपन हो, सरकारी ध्यान पुग्न नसकेर हो,  कर्मचारीको सामु सरकार झुकेर हो वा कानमा तेल हालेर बसेर हो सरकारी कोषको व्यापक दुरुपयोग भएको अवस्था छ । यातायात क्षेत्रको सुधारका लागि कटिवद्ध र अनवरत रुपमा घामपानी केहि पनि नभनी जनताकै लागि निडरताका साथ कदम उठाउने राम बहादुर थापाजी सरकारको कामकाजी शैलीप्रति रुष्ट हुनुहुन्छ । तर यो उहाँको रुष्टता आफ्नो स्वार्थको लागि होइन देश र जनताको लागि हो जुन कुरा उहाँले विभिन्न मिडिया मार्पmत आवाज उठाउँदा पनि सम्बन्धित पक्षले सुन्न, मनन गर्न र केलाउन सकेको छैन । नत्रभने उहाँको लागि मात्र किन यो टाउको दुखाई विषय हुन्थ्यो ? 

 

सत्यवादी भएर देश र जनताको भलाईको लागि काम गर्नुपर्छ भन्ने कुरालाई बिर्सी जसले डाडुपन्यू ओगटेर आफ्नै हातले पस्की पस्की एकलौटी खान पल्केकाहरु र आफ्नो स्वार्थको वरिपरि नै केन्द्रित रहेर राष्ट्रको सम्पत्तिको दुरुपयोग गर्नेहरुलाई त थापाजीले उठाएका आवाजहरु नपच्न सक्छ । हाम्रो देशमा आलोचनालाई सकारात्मक रुपमा लिएर कतै मैंले गल्ती त गर्दैछैन म सुधारिनु पर्ने रहेछ भन्ने भावना विकास गर्नुभन्दा पनि पाखुरा खैंचिने अथवा सुनेको नसुनेै गर्ने आदत जबसम्म हट्दैन त्यतिबेलासम्म देशमा परिवर्तन आउन सक्दैन र जबसम्म परिवर्तनका रेखाहरु कोरिन थाल्दैनन् तबसम्म देश र जनताले राज्य तथा प्रशासकबाट के आशा गर्ने भन्ने थापाजीको भनाई छ । त्यहि भएर केन्द्रिय तहबाटै अनुशासन र सुधारको विगुल फुक्नु र आफुपनि सुध्रिनु र अनुशासित हुनु अति जरुरी छ । स्कुलमा पढाउने शिक्षक नै अनुशासनमा बस्न सकेन र राम्रा कुराहरु सिकाउन सकेन भने विद्यार्थीहरुको भविष्य कतातिर डोरिने छ भन्ने कुरा सबैजनाको सामु छर्लङ्ग छ ।

 

नेपालमा सरकारी स्तरबाट जुन जनस्तरीय तहमा काम हुनुपर्ने हो त्यसमा धेरै कमी देखिएको छ । यदि नयाँ योजनाहरु ल्याएर केहि गर्न खोजेको मात्रै भए त जनतालाई चित्त बुझाउने बाटो हुन्थ्यो र सरकारले केहि गर्न खोजिरहेको छ भन्ने विश्वास हुन्थ्यो । तर यहाँ त त्यति मात्रै हो र सरकारी कोषको दुरुपयोग गरेर विभिन्न आफ्नो सुख–सुविधाको लागि प्रयोग गर्ने चलन छ । संदर्भवश राम बहादुर थापाजीले सरकारी गाडीहरुको दुरुपयोग भएको सम्बन्धमा नेपाली जनता जसको रगत पसिनाबाट भरिएको सरकारी कोषबाट आफ्नो मनोमानीसंग गाडी किन्न अथवा अन्य राज्य तथा जनताको प्रत्यक्ष भलाईको नभएको अनावश्यक कुराहरुलाई बजेटमा पास गर्ने । के त्यतिखेर उनीहरुको दिमागमा नेपालमा खानै नपाएर, दुःख पाएर, औषधी गर्न नसकेर, बच्चाहरुलाई बोर्डिङ्ग स्कुलमा पढाउने कुरा त परै जाओस् सरकारी स्कुलमा समेत पढाउन धौ धौ हुने जस्ता कैंयन उदाहरणहरु हुँदाहुँदै यस्ता अनावश्यक तथा विलासिताका कुराहरुमा खर्च गर्ने सोच बनाउनु यो कुनचाहिँ मानवतावादी सोच हो ? अझ उहाँहरु त त्यहि तहमा हुनुहुन्छ जहाँबाट उहाँहरुले जनताको प्रत्येक सुखदुःखमा साथ दिनुपर्नेछ र प्रण गरेरै त्यस ठाउँमा पुग्नु भएको छ ।

 

तैपनि अझै संगसंगै उहाँहरुलाई नै नपुगेर भ्रष्टाचार गर्ने, कमिशन खाने बाटोहरु नबनुन्जेल जनताको काम गर्न अनकनाउने, जनताले कुनै काम गर्दिनको लागि अनुरोध गर्दा रुष्ट शब्द तथा वाक्यहरु बोल्ने, काममा ढिलासुस्ती गरिदिने, फिल्डको काम गर्न जाँदा भौचरहरुमा बढी पैसा देखाएर पैसा खाने, त्यस्तै सरकारी गाडीहरुमा डिजेल पेट्रोल हाल्दा र गाडी मर्मत गर्दा समेत बिलमा बढी पैसा चढाउन लगाएर कमिशन खाने गरेर आफ्नै बाउको सम्पत्तिमा मोज गरेको जस्तो गरिराखेका छन् । यस्ता प्रकारका सरकार तथा सरकारी कर्मचारीहरुको रवैया, प्रवृत्ति र क्रियाकलापहरुप्रति थापाजी खनिदैं जनताको संपत्ति जनताको भलाईका कामहरु गर्दै जनतासम्म आइपुग्नुपर्छ भन्नुहुन्छ । 

 

उहाँको एउटा भनाई बडो सान्दर्भिक छ सरकारी गाडी जुन सुविधाको लागि दिइन्छ वा प्रयोग गरिन्छ ति गाडीहरु महँगो महँगो मूल्यका नकिनेर अलि सस्तो गाडीहरु किनेर प्रयोग गर्दा के फरक पर्छ ? के अलि सस्तो गाडीले सेवा दिन सक्दैन ? के सरकारी कोष रित्याउनै पर्ने भन्नेछ ? यस कुरामा सरकारी निकाय यतिविधी उदारवादी बनेको प्रतिभने यातायात अधिकारकर्मी राम बहादुर थापाजी बडो मार्मिक र चिन्तित देखिनुहुन्छ र प्रतिप्रश्न गर्नुहुन्छ के हाम्रो देशभित्र अभैm कति भोकानाङ्गा मानिसहरु छैनन् र ?