आज : २०७५ श्रावण ७ सोमबार | Today: 23rd Monday, 2018

वरिष्ठ अभिनेता एवं रङ्गकर्मी शर्मालाई सम्मान

भक्तपुर, २० माघ (रासस): तीन दशकभन्दा लामो समय कलाकारितामा लाग्नुभएका वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्मालाई नगद सहित सम्मान गरिएको छ । 

भक्तपुरको लोकन्थलीस्थित ॐ ज्ञान मन्दिर स्कूलको आज आयोजित २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा स्कूलका संस्थापक निर्देशक एवं प्रिन्सिपल रामप्रसाद सुवेदीले कलाकार शर्मालाई नगद रु १० हजार एक र सम्मान-पत्र सहित ‘ॐ ज्ञान मन्दिर सम्मान, २०७४’ प्रदान गरी सम्मान गर्नु भएको हो । 

कार्यक्रममा प्रिन्सिपल सुवेदीले देशको सम्पत्ति र गहनाका रुपमा रहेका कलाकारलाई स्कूलले प्रत्येक वर्ष सम्मान गर्दै आएको बताउनु भयो । 

त्यस अवसरमा सम्मानित कलाकार शर्माले पछिल्लो समयमा रङ्गमञ्च फस्टाउँदै गएको र चलचित्रसमेत वर्षमा धेरैभन्दा धेरै निर्माण हुने भएकाले यसबाट कलाकारलाई बाँच्न पुग्ने अवस्था आएको बताउनुभयो । उहाँले चलचित्र क्षेत्रमा अहिले वार्षिक अरबौँको लगानी हुने गरेको उहाँको भनाइ थियो । 

कार्यक्रममा विद्यालय तथा विद्यालय बाहिर भएका विभिन्न प्रतियोगितामा विजेता बनेका विद्यार्थीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा गायिका कुन्ती मोक्तानदेखि विद्यार्थीसम्मले नाटक, गीत, नृत्यलगायतका सांस्कृतिक प्रस्तुति राखेका थिए । 

विद्यालयले यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिकर्मी सत्यमोहन जोशी, गायक योगेश वैद्य लगायतलाई नगद रु १० हजार सहित उक्त सम्मान प्रदान गरेको कार्यक्रमका संयोजक एवं शिक्षक रामगोपाल आशुतोषले जानकारी दिनुभयो ।