आज : २०७५ जेठ १२ शनिबार | Today: 26th Saturday, 2018

गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

काठमाडौँ, ९ माघ (रासस): जिल्ला अदालत काठमाडौँले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

न्यायाधीश बाबुकाजी बाँनियाको इजलासले आज थुनछेक बहसपछि गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र दुई जनालाई धरौटी छाड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । 

अदालतले गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । अदालतले राजकुमार साह रौनियार र श्याम गुप्तालाई धरौटीमा छोड्न आदेश दिएको छ । 

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको संगठित अपराधमाथिको बहसपछि अदालतले सो आदेश दिएको हो । गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो । 

(फाईल फोटो)