आज : २०७४ फाल्गुण ६ आइतबार | Today: 18th Sunday, 2018

डडेल्धुराको सल्लेरी वनमा खोटो संकलन कार्यले वन विनाश

–धनबहादुर भण्डारी 

डडेल्धुरा, ८ माघ (रासस): लामो समयदेखि निरन्तर खोटो संकलन कार्यले सल्लाको वन संकटमा परी विनाश थालेपछि खोटो झिक्ने कार्यलाई रोक लगाउने अभियान नै थालिएको छ । 

चालीस वर्षदेखि निरन्तर रुपमा खोटो संकलन हुँदै आइरहेका डडेल्धुराका सल्लेरी वन विनाश हुने अवस्थामा पुगेका छन् । ४० वर्षदेखि एउटै रुखबाट निरन्तर खोटो संकलन गर्दा डडेल्धुराका सल्लेरी वन सुक्न थालेका हुन् । सल्लेरी वन जोगाउन खोटो संकलन कार्य रोक्नु पर्ने वनकर्मीले सामुदायिक वनलाई सुझाव दिएको छ । 

डडेल्धुरामा खोटो संकलन हुने वनको क्षेत्रफल ३० हजार हेक्टर रहेको जिल्ला वन कार्यालयले जनाएको छ । हालसम्म डडेल्धुराको सल्लेरी वनमा भवानी केमिकल्स प्रालि, दिव्या रोजिन एण्ड टर्पेन्टाइन प्रालि, माउण्ट रोजिन एण्ड टर्पेन्टाइन प्रालि र हिमचुली रोजिन एण्ड हर्वल प्रालिले खोटो संकलन कार्य गर्दै आइरहेका छन् । खोटो संकलन कार्यले सल्लेरी वन विनाश हुन थालेपछि सो कार्यलाई रोक्न वन उपभोक्ता समितिलाई जिल्ला वन कार्यालयले निर्देशन दिएको छ । 

डडेल्धुरामा चारवटा खोटो संकलन कम्पनीले काम गरिरहेका भए पनि वन निर्देशिका विपरीत खोटो संकलन गर्ने कार्य भएकाले सल्लेरी वनको अवस्था नाजुक भएको वन कर्मचारीको भनाइ रहेको छ । 

खोटो संकलन कार्यविधि, २०६४ अनुसार खोटो संकलनकर्ताले मापदण्ड र सम्झौताअनुसार खोटो संकलन नगर्दा सल्लाको वन नासिने अवस्थामा पुगेको जिल्ला वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत केशव पुडाशैनीले जानकारी गराउनुभयो । 

डडेल्धुरामा हालसम्म ४७३ सामुदायिक वन, धार्मिक वन, तीन निजी र १६७ वटा कबुलियती वन रहेका छन् । जसमध्ये ३० हजार हेक्टर क्षेत्रमा सल्लाको वन रहेको छ । 

जथाभावी खोटो संकलन गर्दा जिल्लाका अधिकांश सल्लेरी वनका रुख सुकिसकेका छन् भने केही रुख सुक्ने अवस्थामा पुगेका छन् । लामो समयदेखि निरन्तर रुपमा खोटो संकलन गर्दा सल्लाका रुखमा रिल लगाउनका लागि खाली ठाउँ नहुँदासम्म पनि खोटो संकलन कार्यलाई भने निरन्तरता दिएको पाइन्छ । 

खोटो संकलनले केही उपभोक्ताबाहेक वन उपभोक्ता समिति र अन्यलाई खासै फाइदा नहुने र वनमात्रै विनाश भइरहेको भागेश्वर गाउँपालिका रुपालका भीमबहादुर बोहराले बताउनुभयो । खोटो संकलन कार्यले सल्लाको वन नासिन थालेपछि उपभोक्ता चिन्तित बनेका छन् । 

लामो समयसम्म खोटो संकलन भइरहेका रुखको अवस्था हेरेर खोटो संकलन बन्द गर्नु पर्ने भए पनि डडेल्धुरा जिल्लामा त्यसो नगरिएको पाइएको छ । अब भने वन विनाश हुनबाट रोक्नका लागि खोटो संकलन कार्यलाई बन्द गरिने र वन उपभोक्तालाई अन्य आयमूलक कार्यमा लगाइने वनकर्मीको भनाइ रहेको छ । 

लामो समयदेखि निरन्तर रुपमा खोटो संकलन हुँदा डडेल्धुराका ७५ प्रतिशत सल्लेरी वन विनाश हुने अवस्थामा पुगेको जिल्ला वन कार्यालय डडेल्धुरा जिल्ला वन अधिकृत इन्द्रमणि भण्डारीले जानकारी गराउनुभयो । लामो अवधिसम्म एउटै रुखबाट खोटो झिक्ने कार्यलाई तुरन्तै बन्द गरिने अधिकृत भण्डारीले जानकारी गराउनुभयो । 

खोटो संकलन उद्योगले खोटो संकलन निर्देशिकाको पालनासमेत गरेका छैनन् वन अधिकारकर्मीले जानकारी गराउनुभयो । एउटा रुखमा दुई वा दुईभन्दा बढी पिघ लगाउने, रुखको वरिपरि सरसफाइ नगर्ने, माउ रुखबाट समेत खोटो संकलन गर्ने गरेको गोरिल सामुदायिक वनका उपभोक्ताले जानकारी गराउनुभयो । 

पुरानो घाउलाई पोत्नु पर्ने र वृक्षरोपण कार्य पनि गर्नुपर्ने भए पनि कुनै कार्य नगरेको र गमलासमेत रुखमा नै भेटिने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । 

डडेल्धुरा जिल्लाका धेरैजसो वनमा दिव्यारोजिन एण्ड टर्पेन्टाइन र भवानी केमिकल्स प्रालिले लामो समयदेखि खोटो संकलन गरिरहेका छन् । जिल्लाबाट वर्षेनी चार हजार मेट्रिक टन खोटो संकलन हुने गरेका छ । 

सुदूरपश्चिमका डडेल्धुरासहित डोटी, अछाम, बैतडी, बझाङमा विभिन्न कम्पनीले खोटो संकलन गरिरहेका छन् । संकलित खोटो सडक कालोपत्र गर्ने कार्यमा प्रयोग गरिन्छ । 

खोटो संकलन गरिसकेको रुखको घाउलाई पोत्नुपर्ने भए पनि त्यसो गरेको भने पाइएको छैन । रुखमा लागेको घाउलाई नपोत्दा रुख नै सुकेर जाने गरेको सल्लेरी वनमा देख्न पाइन्छ । जथाभावी रिल लगाउन नपाउने भए पनि खोटो संकलकले आफ्नो फाइदाका लागि जथाभावी रुखमा खोप्ने र खोटो निकाल्ने गर्नाले रुख सुकेर जानुका साथै वन नै सखाप हुने अमरगढीका यज्ञराज जोशीले बताउनुभयो । 

वनका उपभोक्ता र जिल्ला वन डडेल्धुराका सहायक वन अधिकृत, वन हेरालुका साथै सर्वसाधारणलाई सल्लेरी वन नासिँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । सीमित व्यक्ति र कम्पनीका स्वार्थका कारण डडेल्धुराका अधिकांश सल्लेरी वन सखाप हुने भएकाले सल्लेरी वन जोगाउनका लागि खोटो संकलन कार्यलाई रोक्नु पर्ने वा व्यवस्थित गरिनु पर्ने सर्वसाधारणको बुझाइ रहेको छ । 

(फाईल फोटो)