आज : २०७४ माघ १० बुधबार | Today: 24th Wednesday, 2018

विश्वका मुस्लीम नेताहरुद्वारा पूर्वी जेरुसलेमलाई प्यालेस्टाइनको राजधानी बनाउन जोड

जेरुसलेम । संसारका ५० भन्दा बढी ईस्लामिक देशहरुका मुसलमान नेताहरुको एक भेलाले इजरायलको अधीनमा रहेको पूर्वी जेरुसलेमलाई प्यालेस्टाइनको राजधानीका रुपमा मान्यता दिन आह्वान गरेका छन् । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने निर्णयले निम्ताएको आक्रोशबिच टर्कीको इस्तानबुलमा भएको आपत्कालिन भेलाले यस कुरालाई जोड दिएको हो ।

 

उक्त भेलापछि जारी वक्तव्यमा राष्ट्रपति ट्रम्पले जानाजान मध्यपूर्वमा शान्ति प्रयासहरुलाई कम रुपमा आंकलन गरेको आरोप लगाउनुका साथै उनको कदमले आतंकवादलाई बढावा दिने कुरा बताइएको छ । मुस्लीम देशहरुमा राष्ट्रपतिको यस कदम प्रति विरोध नभएका पनि होइनन् । त्यस भेलालाई सम्बोधन गर्दै प्यालेस्टिनी नेता महमुद अब्बासले राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने निर्णयगरेबाट शान्ति वार्ताहरुमा अमेरिकीहरुले सहजकर्ताको भूमिका निर्वाह गर्न नसक्ने प्रष्ट पारेको कुरा बताएका छन् । उनले अब भने संयुक्त राष्ट्रसंघले शान्ति प्रक्रियाको नेतृत्व लिनु पर्ने कुरामा जोड दिए ।

 

यस्तो निर्णयसँगै अमेरिकाले मध्यस्थकर्ताको रुपमा आफ्नो क्षमता गुमाउने र शान्ति प्रक्रियामा आफ्नो भूमिकाबाट बाहिरिने बाटो रोजेको छ र उनीहरुले अमेरिकाको भूमिकालाई स्वीकार गर्न नसकिने र उनीहरु पुरै इजरायलको पक्षमा छन् भनी प्रमाणित भएको कुरा पुष्टि गरेका छन् भन्ने कुरा प्यालेस्टिनी नेता अब्बासले जनाएका छन् । 

 

जेरुसलेमको मुद्दामा अमेरिकाले विश्वका अन्य देशहरुलाई डरत्रास देखाइरहेको कुरा टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोआनले बताएका छन् । इस्लामिक मुलुकहरुको संगठन, ओआइसीको शिखर बैठकमा एर्दोआनले यसै महिनाको शुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको निर्णय गैरकानुनी र उक्साउने खालको भनी भएको टिप्पणी गरेका छन् ।