आज : २०७५ श्रावण ७ सोमबार | Today: 23rd Monday, 2018

बेलायती प्रधानमंत्री बेलायत इयूबाट बाहिरिने संझौता ब्रेक्जिट विधेयक पास गराउन असफल

लण्डन । बेलायतमा भएको ब्रेक्जिट विधेयक सम्बन्धी भएको महत्वपूर्ण मतदानमा सत्तारुढ कन्जरभेटिभ पार्टीका ११ सांसदहरुले विद्रोह गरेपछि निकै कम मतले उक्त विधेयक पास हुन सकेन । प्रधानमन्त्री टरिजा मेलाई धक्का दिँदै सांसदहरुले ब्रसल्ससँग हुने ब्रेक्जिट संझौताको कानूनी ग्यारेन्टी संसदमा राख्न मतदान गरेका छन् । सरकारले त्यस्तो व्यवस्थाले ब्रिटेन इयूबाट सजिलोसँग बाहिर निस्कने प्रक्रियालाई समस्यामा पार्न सक्ने तर्क अगाडि सारेको थियो । विद्रोही सांसदहरुलाई सहुलियत दिन अन्तिम समयतिर प्रयत्न गरिएपनि संशोधनका पक्षमा ३०५ का विरुद्ध ३०९ मत परेको थियो ।

 

टरिजा मेको मन्त्रीहरुले यो सानो धक्काले सन २०१९ मा इयूबाट ब्रिटेन बाहिरिने कुरा नरोकिने बताएका छन् । मेको सरकार विरुद्ध मतदान गर्नेमा आठजना पूर्व मन्त्रीहरु पनि रहेका छन् । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले इयू शिखर सम्मेलन हुनु अघिल्लो साँझ भएको हारका कारण “अपमानजनक रुपमा प्रधानमन्त्री मेको अधिकार क्षय“ भएको बताएका छन् । सन् २०१९ मार्चमा इयूबाट बाहिरिनु अघि अरु मुलुकसँग ब्रिटेनको सम्बन्धबारे अहिले विभिन्न संझौताहरु भइरहेका छन् ।

 

यो ब्रेक्जिट विधेयक सरकारको इयूबाट बाहिरिने रणनीतिको मुख्य अंश थियो । सांसदहरुले विधेयकका शब्द–शब्द परिवर्तन गर्न सयौं पटक प्रयत्न गरिसकेका पनि छन् । पहिलो पटक एउटा त्यस्तै प्रयत्न सफल भएको छ । सरकार सांसदहरुको चाहना अनुसार चलेन भने उसले पुनः अर्को विधेयक पारित गर्नुपर्ने हुनसक्छ ।