आज : २०७५ बैशाख ९ आइतबार | Today: 22nd Sunday, 2018

अन्तरमनको तरंग – असल सोचको विकास (भाग २) 

सत्मार्गमा चल्ने उपायको खोजी गर्नु मानिसको प्रथम कर्तव्य हो । ठुलाले सानालाई माया गर्ने आदत प्रत्येक जन–जनको मनमा आउनुपर्यो । मानिसले मानिसको मूल्य चिन्न सक्नुपर्यो । दुःखमा परेकालाई उद्धार कसरी गर्ने भन्ने कुरालाई भित्रै मनैदेखि मनन गर्दै दैवीय इच्छालाई हामीले पनि सहयोग गर्नुपर्यो । प्रत्येक मनमा सहयोग र सद्भावको प्रादुर्भाव भयो भने यो संसारमा मानिसले मानिससंगै किन डराउनुपर्यो, आखिर हामी सबै आमाकै गर्भबाट जन्मिएका हौं र उस्तै हाड–मासुको समिश्रणबाट बनेका हौं । हामी सबैको बनोट एउटै हो भने सोच पनि एउटै किन नल्याउने जसले एक–अर्कामा नङ्ग–मासुको सम्बन्ध रहेजस्तै सम्बन्ध बढाउन सकोस् ।

 

यदि हामी एक–अर्कामा ठाङ्गठाङ्ग–ठुङ्गठुङ्ग गर्न थाल्यौं भने न तपाईंलाई फाइदा न अर्को पक्षलाई । अझ त्यसमा त घाटा नै घाटा छ किनभने किचलो बढ्दै जान्छ, झगडा पर्छ हानाहान–ठोकाठोक पर्छ अनि कसले कसलाई हान्छ कसले कसलाई ठोक्छ त्यो त कसैलाई थाहा हुँदैन तर चोटपटक लाग्ने, घाइते हुने अथवा ज्यानै पति जानसक्ने सम्भावना त पक्कै हुन्छ । त्यतिबेला कुन पक्षलाई मजा आउला, कुन पक्षलाई फाइदा पुग्ला, कसले के जित्ला आदि जस्ता कुराहरुको के महत्व र मतलब हुन्छ जब मानिसको ज्यानै धरापमा परिसकेपछि ? जीवन त एकचोटि पाउने अमूल्य पल र अकल्पनीय क्षण हो यसलाई त हामीले सुरक्षित राख्दै आनन्दपूर्वक एक–अर्कामा हाँसी–खुशीको वातावरण सिर्जना गर्दै पुराका पुरा जीवन गुजार्नको लागि बढी प्राथमिकता दिनु जरुरी छ । सकेमा राम्रो काम गरेर नाम कमाउँ जसले गर्दा मरेपछि पनि आफ्ना सन्ततीहरुले याद गर्न सकुन् नत्र मर्दाखेरी पनि मैंले यस्तो राम्रो काम गरेको थियो भनेर मनमा सन्तुष्टी त कमसेकम ल्याउन सकियोस् ।

 

हामी सबैले सकारात्मक सोचको मानसिकता बनाउँ र अरु–अरुमा पनि यस्तो सोचको विकास तथा भावना जगाउँदै जाउँ । यस संसारमा असम्भव भन्ने कुरा केहि पनि छैन, वश छ त हाम्रो सोचाईमा परिवर्तन ल्याउन बाँकी छ, जुन हामीले जुनैपनि बेला ल्याउनसक्छौं । यदि कम्मर कसेर आज यस संसारलाई भय तथा त्रासरहित बनाउने कल्पना गर्दै हाम्रा कदमहरु अगाडी सार्ने हो भने त हामी यो कामलाई अवश्यै सम्भव बनाउन सक्छौं किनकि मानिसको सोचमा परिवर्तन ल्याउनु अत्यावश्यक कुरा हो जुन हामी लगनशील र दत्तचित्त भएर लाग्ने हो भने गन्तव्य भेट्टाउन कुनै गाह्रो छैन । 

 

पहिलो कुरा, हामीले यस्तो कुराको अभियानमा सफलता पाउन दुःखी रहेका मानिसहरुको मनलाई बुझ्न सक्नुपर्छ । त्यहि भएर हामी जुन समाजभित्र बसेका छौं त्यो समाजको भित्री तहसम्म अध्ययन गर्दैै समझदारी तथा सहयोगका हातहरु अघि सार्दै हिँड्नुपर्छ र मानव जीवनमा असल सोचको महत्व कस्तो हुन्छ भन्ने कुरा सम्झाउँदै जानुपर्छ । 

 

सबै मानिस अबुझ हुँदैनन् समय र परिस्थितीले उनीहरुको मन र सोचमा पर्दा लगाएको हो, ज्ञान र बौद्धिकताको परिपूर्ति गर्दै त्यहि अनुसारको सम्झाई र बुझाईले त्यस पर्दालाई उघार्दै वास्तविक संसार चिन्ने र यस धर्तीमा हाम्रो जन्मको सारलाई बुझ्ने साथै मानव जीवनलाई कसरी सार्थक बनाउने कुरालाई झल्काउन सक्ने हो भने मानिसमा सकारात्मक सोचाईको विकास हुँदै मानव जीवन भनेकोे के हो र मानवीयता भनेको के रहेछ भन्ने कुरा सबैको समक्ष छर्लङ्ग हुन आउनेथियो । जुन युग कलिले ढाकेर मानिसहरु अन्धा भएका छन् एउटा परिवर्तनकारी युगको रुपमा सिद्ध भएर आउनेथियो । हामीले कलियुगको समाप्तीको लागि भगवानकै अवतरणसम्मको अवधिलाई कुरेर बस्नु पर्ने नै थिएन । हामीले भगवान सामु उदाहरण प्रस्तुत गर्न सक्थ्यौं कि तिमीले जन्म दिएका मानिसहरु तिम्रो भावना बुझ्न र सुखदायी परिवर्तन ल्याउन यो संसारमा कति सवल र सक्षम रहेछन् । हामी–हामी बिचमा एकमत र जनमतको विकास गर्दै मानिसको सोच र विचार परिवर्तन गर्दै लग्ने एउटा दरिलो कदमको लागि अग्रसरता देखाउँदै हातमा हात, काँधमा काँध मिलाउँदै लोभ–लालच र वैमनश्यता त्याग्दै अघि बढ्नुपर्ने आवश्यकता छ ।