आज : २०७४ माघ ८ सोमबार | Today: 22nd Monday, 2018

कविताः मोसो पोतिएको समाचार

आज
अस्वाभाविक लागिरहेछ
मैलाई मेरा हातका धमनीहरू
मानौं, यी नशा हैनन् शरीरका
र हन्, पम्पले पानी फाल्दै गरेका पोलिथिन पाइप ।


मेरो अनुहार मजस्तो छैन आज
कहाँ गयो मेरो वास्तविक हुलिया–
गहुँगोरो वर्ण ?
म देखिरहेछु आफ्नै अनुहार
कंकालिनी देवीको जिभ्रोझैं– लाल लाल
साँच्चै अस्वाभाविक ।


खै कता हरायो मेरो
शालीन मुद्रा ?
मधुर बोली ?
मलिन चेहरा ?
को पस्यो मेरो छातीमा ?
को टाँस्सियो मेरो जिभ्रोमा ?
र, म भन्न खोजिरहेछु–
–नछोड् ।
–लखेट् ।
–ठोक् ।
भगा ।
नास् ।
मास् ।
किन निस्किए हँ यी शब्दहरू ?
यी त मलाई मेरी आमाले सिकाएका शब्द त हैनन् ।


हो, यो पनि अस्वाभाविक हो
जुन हतियार बाले नवरात्र लागेपछि मात्र
निकाल्ने गर्नुहुन्थ्यो, पूजा गर्न
त्यसैलाई म आज साँध लगाइरहेछु
स्वाराङ् स्वाराङ् स्वाराङ् ।


किंकर्तव्य बिमुढ छु
के उत्तर दिउँ मेरी आमालाई
जो कराउँदै हुनुहुन्छ–
हुँदैन बा हुँदैन
यो जिजुबाले जोड्नुभएको खुँडासंग
खेल्नु– खेलाउनु हुन्न बा ।
खै किन किन !
मेरो मनै तहमा आउन सकेको छैन आज
जसरी लज्जावन्ती झार बन्ने गर्थे
आमाको वचन सुनेपछि 
अरु बेला ।


दाहिने हातले त च्याप्प समाएको छ बिँडमा
कुर्कुच्चा भत्काउन खोज्दैछन् भुइँको लिउन्
अनुभुत गर्दैछु–
कामिरहेका छन् ओठहरू
सुन्दैछु, कसरी बजिरहेछन् दाँतहरू
तर....


तर एकतारै हेरिरहेका छन् यी दुई आँखाहरू
अखबारको फ्रण्ट पेजमा
जहाँ
बल्ड्यांग्रे अक्षरमा स्पस्ट टल्किएका छन्
मोसो पोतिएका समाचार
रंगीन अक्षरहरूमा 
एकः अरबौंका भ्रष्टाचारीले पाए सफाई
दुईः अनशनकारीको प्राणपखेरूले पायो बिदाई ।

                                                                                       

                                                                                        –दुर्गा प्रसाद ग्वालटारे
                                                                                          कौशलटार, भक्तपुर ।