आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

भक्तपुर पटक-पटक डुबानमा पर्नुका कारणलाई लिएर उठेका तर्कहरु

लोकप्रिय समाचार ।

 

भक्तपुर, २३ साउन । खोला तथा नदीको बहाव क्षेत्रलाई बेवास्ता गरिएकाले भक्तपुर फेरि डुबेको छ । भक्तपुरका हनुमन्ते र खस्याङखुसुङ खोलाको बहाव क्षेत्र अतिक्रमण गर्दा भक्तपुर डुबेको हो । सरकारी मापदण्डअनुसार खोलाभन्दा २० मिटर छोडेर मात्र भौतिक संरचना बनाउन पाइने भए पनि यसको बेवास्ता गर्दै गरिएको निर्माणले भक्तपुरका खोला किनारका बस्ती डुबानमा पर्दै आएका छन् ।

 

खोला साँघुरो हुँदै जानु र खोला साँघुरो बनाउँदा पराक्रमी ठान्नुले नै भक्तपुरमा डुबानको समस्या भएको प्रदेश ३ की प्रदेशसभा सदस्य सरस्वती बाटी बताउँछिन् । खोला मिच्नु र फोहोर फाल्ने स्थानका रूपमा खोलालाई लिँदा खोलाको सतहमाथि आएपछि डुबान भएको उनले बताइन् । मापदण्ड नछोडी नगरपालिकालाई छल्नु पनि डुबानको कारण भएको उनको ठम्याइ छ । अविरल वर्षा पहिलो कारण भए पनि डुबानका लागि अन्य कमजोरी निर्णायक भएको उनको बुझाइ छ । खोला साँघुरो भएकाले भक्तपुरका बस्ती डुबेको भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापति बताउँछन् ।

 

‘खोला साँघुरो हुँदै गएको छ, पुलमुनि जम्मा भएको माटो एवं खोलामा अन्य समयमा बगाएर ल्याएको माटोले खोलाको सतह बढेको छ । यो समस्याले पनि बाढी बस्ती पस्न मद्दत पुगेको हो,’ उनले भने । ‘घरको संख्या बढ्यो तर जमिनभित्र पानी जाने स्थानको कमी भएका कारण पनि प्राकृतिक आक्रमण बढेको हो,’ संस्कृतिविद् रञ्जनकुमार दुलालले भने । मापदण्ड पालना नगरी खोला मिचेर बस्ती बसालेका कारण भक्तपुर डुबेको सरोकारवालाको प्रतिक्रिया छ ।