आज : २०७५ श्रावण ४ शुक्रबार | Today: 20th Friday, 2018

वैदेशिक रोजगारीमा सरकारको प्रत्यक्ष निगरानी बढाउन माग

काठमाडौँ,२९ असार । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई अलग–अलग ज्ञापनपत्र बुझाई सरकारको प्रत्यक्ष निगरानीमा वैदेशिक रोजगारी सञ्चालन गर्नुपर्ने माग गरेको छ । 

एकता समाजका अध्यक्ष गङ्गा पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष सांसद दुर्गा पौडेल लगायत प्रतिनिधिमण्डलले ओमनबाट बिदामा घर फर्केका नेपाली घरेलु महिला कामदारलाई पुनः सोही रोजगारीमा जान पाउनुपर्ने, विदेशस्थित नेपाली नागरिकलाई मतदान र प्रतिनिधित्वको अधिकार दिनुपर्ने र गैरकानूनी ढङ्गले युरोप, अमेरिका लगायत देशमा पठाउने नाममा भएका विकृतिको अन्त्य गर्नुपर्ने माग समेटिएका छन् । 

यसैगरी, ओमनमा त्यहाँको राजदूतावासको रोहबरमा नेपालीहरुको एउटै सोसियल क्लब दर्ता गर्नुपर्नेमा गैरआवासीय नेपाली संघले एकतर्फी क्लब दर्ता गरेको विषय पनि सरकारलाई ध्यानाकर्षण गराइएको छ । 

परराष्ट्रमन्त्री ज्ञवालीले ओमनमा कुनै एक नेपाली संगठनको नाममा मात्र सोसियल क्लब दर्ता हुनु उचित नभएको बताउँदै आफूले यसबारेमा पहल गर्ने आश्वासन दिएको समाजका महासचिव शोभाकान्त लामिछानेले जानकारी दिनुभयो । 

श्रममन्त्री विष्टले वैदेशिक रोजगारीमा देखापरेका विकृति अन्त गर्न सरकार क्रियाशील रहेको बताउनुभएको थियो । रासस