आज : २०७५ श्रावण ४ शुक्रबार | Today: 20th Friday, 2018

बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स विश्वकप फाइनलमा प्रवेश

लोकप्रिय समाचार ।

 

सेन्ट पिटर्सबर्ग, रुस, २७ असार ।  फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै सन् १९९८ को विश्वविजेता फ्रान्स फेरि एकपटक उपाधि नजिक पुगेको छ । मंगलबार मध्यराती सम्पन्न सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्धन्द्धी बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । २० वर्षअघि फ्रान्स ब्राजिललाई ३–० गोल अन्तरले हराउँदै विश्व च्याम्पियन बनेको थियो ।

 

फ्रान्सका लागि दोस्रो हाफको ५१औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले गरेको गोल निर्णायक सावित भएको थियो । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका पाएनन्  । खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक रणनीति परिवर्तन गरेपनि गोल फर्काउन सकेन ।

त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको २२औं मिनेटमा फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखेका थिए । उनले बेल्जियमका डिफेन्डर टोबी आल्डरवेरल्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई डाइभ गर्दै बचाएका थिए । कर्नरमा रिबाउन्डपछि आएको उक्त प्रहार नै बेल्जियमले गरेको डरलाग्दो प्रयास थियो ।

 

यता फ्रान्सले पनि आक्रामक रणनीति बुन्दै मौका लगातार अवसर सिर्जना गरिरहेको थियो । यद्यपी फरवार्डहरुले डिफेन्सलाई पार गरेर गोलरक्षकलाई परिक्षण गर्न सकिरहेका थिएनन् । ४४औं मिनेटमा फ्रान्सले राम्रो स्थानमा फ्रिकिक पाएपनि फरवार्ड एन्टोइन ग्रिज्मनको प्रहार वालमा लाग्दै फर्कन पुग्यो ।

 

यस जितसँगै फ्रान्सले जुलाई १५ मा हुने विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको छ । फ्रान्सले अब दोस्रो सेमिफाइनलको विजेतासँग विश्वकप उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र क्रोएसिया भिड्नेछन् । (एजेन्सी)