आज : २०७५ श्रावण ४ शुक्रबार | Today: 20th Friday, 2018

टाइब्रेकरमा ४–३ ले रुसलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको क्रोएसियाको इङ्ल्यान्डसंग जम्काभेट हुने

मस्को, रुस, २४ असार । रसियामा जारी विश्व कप फुटबलमा टाइब्रेकरमा भाग्यशाली रहँदै क्रोएसिया सेमिफाइनलमा पुगेको छ । निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । यो सँगै रसिया विश्व कपको समिकरण पुरा भएको छ ।

 

यसअघि भएको खेलमा स्विडेनलाई २–० ले हराउँदै सेमिफाइनलमा पुगेको इङ्ल्यान्डसंग क्रोएसियाले अब सेमिफाइनलमा खेल्नेछ । फ्रान्स र बेल्जियम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । थप ३० मिनेटमा दुवै टोलीले समान १ गोल थपेपछि निर्णायक खेलका लागि टाइब्रकेरमा गएको थियो ।

 

दुवै टोलीले खेलमा एक एक पटक अग्रता लिएपनि जोगाउन सकेनन् । डोमागोज भिडाले थप समयको १०औं मिनेटमा कर्नरमा आएको बलमा हेड गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर थप समयकै २५औं मिनेटमा मारियो फर्नान्डेजले हेडमार्फत बराबरी गोल फर्काएका थिए । फ्रिकिकमा आएको बललाई फर्नान्डेजले हेडमा गोल गरेका थिए ।

 

क्रोएसिया र रसियाबीच निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा टुंगिएको थियो । खेलमा अग्रता आयोजक रसियाले लिएको थियो । डेनिस सिरेसेभले ३१औं मिनेटमा गोल गर्दै आयोजकलाई अप्रत्यासित अग्रता दिलाएका थिए । उनले पेनाल्टी बक्सको बाहिरबाट विपक्षी गोलकिपरलाई कुनै मौका नदिइ आकर्षक गोल गरेका थिए । तर, रसियाले त्यो अग्रता लामो समय टिकाउन सकेन ।

 

३९औं मिनेटमा आन्द्रेज क्रामारिकले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । क्रसमा आएको बललाई क्रामारिकले हेडमार्फत गोल गरेका थिए । क्रोएसिया र रसिया दुवै टोली टाइब्रेकरमा विजयी हुँदै क्वार्टरफाइनलमा पुगेका थिए । रसियाले पूर्व विजेता स्पेनलाई ४–३ र क्रोएसियाले डेनमार्कलाई ३–२ ले हराएको थियो । रसिया र क्रोएसिया दुवै टोली प्रिक्वार्टरफाइनलमा टाइब्रेकरमा विजयी हुँदै अघि बढेका थिए । एजेन्सी