आज : २०७५ श्रावण ४ शुक्रबार | Today: 20th Friday, 2018

फूल

–नवराज क्षितिज

फूल प्रकृतिको सुन्दर उपहार ! हेर्दा वसन्तबहार । कहीँ उजाड, कहीँ सदाबहार । आहा ! कति राम्रा फूल अनि माहुरीका हुल । फूल, यसको नामैले पर्याप्त छ अनि कामैले पर्याप्त छ । फूल अर्थात् कुसुम जुन शब्द सुन्दा नै सुगन्ध फैलन्छ जसरी सुगन्धित हुन्छ खास ऋतुमा वातावरण । फूल भन्नेबित्तिकै मानस्पटलमा बसिहाल्छ सुन्दर, कोमल अनि सुवासित एउटा बिम्ब, जो जीवनमा कहिले प्रेम बनेर आउँछ कहिले सम्मान भएर आउँछ त कहिले स्वाभिमान भएर मगमगाउँछ । फूलको रुपरङ र महत्वको बारेमा बोल्ने वा चर्चा गर्ने हो भने त्यसमा मेरो शब्द र भंगी पुग्दैन अनि पुग्दैन वर्णन र विश्लेषण । तर पनि मन लाग्छ फूललाई आफ्नो भनूँ अनि काँडालाई अर्काको । हुन त सबै फूलमा कहाँ काँडा हुन्छन् र ? अनि काँडा भएका सबै वृक्ष कहाँ फूल मात्र हुन्छन् र ? फूललाई प्रकृतिले नै एउटा यस्तो वरदान दिएको छ जसले सानोमा सानो किरादेखि समाजका सुन्दर हिरासम्मलाई आकर्षित गर्छ आफैँतिर । कोही सुगन्धित अनि कोही गन्धरहित फूल ।

 


फूलका अनेक नाम र रङ छन् । सयपत्री, गोदाबरी, जाइ, जुइ, नीलकमल, लाहुरे, लालुपाते, बेली, चमेली,बेगमबेली, बामरी, गुलाब आदि आदि । यसरी हेर्दा फूलका अनेक नाम छन् अनि आफ्नै काम पनि । हरेक फूलका आआफ्नै कला छन्, स्वभाव छन् अनि विशेषता पनि । गुलाफको फूलमा काँडा हुँदा पनि हरेकको हात जान्छ, मन जान्छ । सायद काँडामा पनि छुट्टै सौन्दर्य टाँसिएको छ । काँडाको सौन्दर्यले अथ्र्याएको छ हाम्रा यात्रामा संघर्ष र दुःख हुँदाहुँदै पनि हामीले त्यसलाई बलपूर्वक स्वीकार गर्नुपर्छ । फूलबारीमा जाँदा फूलकै बासना आएको देखिन्छ, कतिले मन्दिरमा चढाएको त कतिले शिरमा सजाएको देखिन्छ । शिरमा फूल सजाउने र फूलकै शब्दमा जीवनका गीत भजाउनेहरु यहाँ कम छैनन् । गीत भजाउनेको कुरा गर्दा एउटा कुराको याद आयो । फूलसँग त धेरैको जीवन अटाएको हुन्छ, अनि फूलले नै कतिको जीवन बचाएको हुन्छ । फूलमा त्यस्तो के छैन जस्तो मूल्यवान् भन्ने सुन, चाँदी अनि हिरामा छ । रूप छ, रङ छ, कला छ, सौन्दर्य छ, शालिनता छ स्वाभिमान छ, धैर्य छ, साहस छ शक्ति छ । उसँग छैन त केवल स्वतन्त्रता छैन ।

 


कैयन मानिसहरू फूलसम्बन्धी गीत गाएर जीवन निर्वाह गर्छन् । कोही गीतकार हुन्छन््, कोही सङगीतकार हुन्छन् । फूलकै सहयोगमा कलाकार हुन्छन् अनि नयाँ जीवनको सुरुवात गर्छन् । जब उनीहरू माथि पुग्छन् अनि बिर्सन्छन् सुन्दर फूलले लगाएका गुनहरू, जसरी बिर्सिएका छन् सत्ताका फूलहरूले सडकका फूलहरूको समर्थन् र तिनको जीवनको धरातललाई । फूलसम्बन्धी गीतको सन्दर्भमा एउटा कुरा भन्न मन लाग्यो । हुन त अहिले पनि फूलकै कुरा गरिरहेको छु । अलिकति फरक सबाल उठाउँछु । यहाँ फूलसम्बन्धी सयौँ गीत लेखिएको छ, फूलमै प्रित देखिएको छ । उखान टुक्कादेखि कविता र सायरीको शृङखला फूलकै सन्दर्भमा लेखिएको छ । सायद यो संसारमा सबैले सबैसँग खुलस्त र सहज तरिकाले भन्ने हो भने फूलकै बारेमा वर्णन गर्छन् । अब फूलसम्बन्धी गीतका केही उदाहरण पनि हेरौँ । फूलको आँखामा फूलै संसार…, फूल हो जीवन…, तिमी फूल झैँ फुलिरहनु, म त लालीगुराँस (लालीगुराँस पनि फूल नै हो) भएछु…, एउटा फूल देउरालीलाई…, फूलजस्तै पवित्र…, फूलफूलमा पातपातमा…, फूलको सौन्दर्य चोरेर…, जाइजुई चमेली फूल फूल फुलेछ…, बाबरी फूलको बोट…, फूल्यो बामरी…, फूल राम्रो गुलाबको काँडा भएनि…, तिमी फुल्यौ कतै…, फूलमा भमरा…आदिइत्यादि गीतहरूको जन्म फूलबाटै भएको प्रमाण भेटिएको छ भन्छन् गीतका विशेषज्ञहरू । यी सम्पूर्ण गीतहरू फूलकै मियोमा घुमाएर लेखिएका र गाइएका छन्, कतै प्रित लाइएका छन् । कथा, कविता निबन्धजस्ता साहित्यिक कृतिहरूसमेत फूलकै नामबाट सिर्जित छन् । पारिजातको शिरीषको फूल होस् या झमकको जीवन काँडा कि फूल या देवकोटाको वनकुसुम वा अज्ञात सर्जकको फूल , पात पतकर फूललाई नै शीर्षीकरण गरेर लेखिएका छन् ।

 


यति मात्र होइन । फूलसम्बन्धी कति कहावत वा भनाइहरू त यत्रतत्र सर्वत्र सुन्न पाइन्छ, मनमा गुन्न पाइन्छ । फूलजस्तो कोमल, फूलको आँखामा फूलै संसार, फूलजस्तो जीवन, जहाँ फूल त्यहाँ भमराका हुल, जहाँ फूल त्यहाँ प्रेमको मूल आदि आदि । यति कुरा जानेपछि र बुझेपछि अब फूलको रङ र प्रयोग स्थलको बारेमा अलिकति बुझ्नु आवश्यक देखिन्छ । कतै देखिन्छन् राता फूल, कतै सेता फूल कतै निला त कतै पहेँला फूल । कतै कस्ता त कतै कस्ता फूल । कुनै फूल चारकोश पारीसम्म बास्ना छर्छन्, कति फूल पलाँस भएर अलपत्र पर्छन् । न कसैले टिपेर सजाउँछन् न कसैले मन्दिरमा चढाउँछन् । अचेल फूल हरेक ठाउँ र परिस्थितिमा प्रयोग हुन थालेको छ । जन्मदेखि मृत्युसंस्कारमा फूलको प्रयोग हुन्छ । हिन्दू होस् या इसाई, चाहे बौद्धमार्गी नै किन नहोस् सबैको पूजा प्रार्थनाको मुख्य साधन बनेको छ फूल । धूप र अबिर चढाउन नमिल्ने देउता पनि फूल चढाएपछि मख्ख । एक मान्छेले अर्को मान्छेलाई राम्रो नमाने पनि काँडा भए पनि फूललाई राम्रो मान्नेहरू यहाँ छापछाप्ति भेटिन्छन् । जन्म विवाह, भातखुवाई, पूजापाठ, प्रेम दिवस होस् या मित्रता दिवस मन्दिरदेखि मन्त्रालयसम्म फूल चढाएरै आर्शिवाद लिने संस्कारका अनुयायी भएका छौँ हामी । फूलले कसको स्वागत गरेको छैन ? अनि कसलाई आफ्नो भनेको छैन ? अनि कसको चित्त दुखाएको छ फूलले ? वल्लो घर, पल्लो घर, छरछिमेकी देश विदेश, कालासँग अनि गोरासँग, छोरीसँग अनि छोरासँग सबैसँग सद्भाव व्यक्त गरेको छ फूलले । फूलकै भरमा कति देशहरू देश घुम्न आँछन्,जान्छन् । फूल बोकेरै कति अन्तर्राष्ट्रिय विमानस्थलको ढोकामा पर्खिएका हुन्छन्, कति दर्शन नपाएरै फर्किएका हुन्छन् ।

 


कुरा केही वर्ष अगाडिको हो एक जना व्यक्ति छिमेकी देशबाट नेपालको बारेमा बुझ्न आएका रहेछन् । हाम्रो माथिका देउताहरूले (माफ गर्नुहोला है पाठक वृन्द लिने मात्रै भएपछि त लेउता पो भन्नु पर्ने होइन ? सधैँ लिने मात्र भएर लेउता भनेको नत्र देउता भने पनि हुन्थ्यो) फूलले नै स्वागत गर्न तछाडमछाड गरेको देखेँ । उनीहरू किन यसरी यस तरहले पुष्पगुच्छा अर्पण गरिरहेका छन् ? छोड्दिऔँ अब यी सब कुरा । कुरा ग¥यो कुरैको दुः ख भन्याजस्तो हुन्छ फेरि । त्यसैले बरु अलि पर सरौँ फूलकै कुरा गरौँ । अचेल सहर बजारमा अनेक किसिमका फूलहरू पाउन सकिन्छ । कुनै सक्कली फूल कुनै नक्कली फूल । सक्कली फूलमा भमरा किरा आउँछ रस खान्छ चुमिदिन्छ । नक्कली फूलमा भुन्भुनाउँछ मात्र घुमिदिन्छ । अहिले जताततै फूल सजाएको देख्न सकिन्छ । फूलकै बारेमा कैयन शब्द लेख्न सकिन्छ जसको धृष्टता गरिरहेको छु म । हातमा फूल, साथमा फूल, झ्यालमा ढोकामा फूल, चोटामा फूल, कोठामा फूल , मन्दिरमा फूल अनि मन्त्रालयमा फूल । शान्त घरको गमलादेखि युद्ध र हमलासम्म फूल फुलेका देखिन्छन् । कति फूल अन्जानमा टिपेर फालिन्छन् कतिलाई सजाएर फ्रेममा हालिन्छन् । कति सुन्दर फूलहरूको माला गाँसिएको देखिन्छ कति फूल बोटमै चाउरिएर टाँसिएको देखिन्छ ।

 


अचेल हरेक मान्छे फूलको शोखिन भएको छ । कति मान्छेले जीवन फूलसँगै जोडेर बिताउँछन् कतिले फूलको नाता तोडेर बिताउँछन् । स्कुल, कलेज, विद्यार्थी, शिक्षक, प्राध्यापक, डाक्टर,इन्जिनियर, कृषक, धामी, झाँक्री, डाक्टर मन्दिर होस् या धाममा शीतल होस् या घाममा मानिसहरू सकेसम्म सुन्दर र सुगन्धित फूलबारीमै बस्न रुचाउँछन् । फूलको कुरा गर्दा हाम्रो देशमा कतिको त नाम पनि फूलसँगै जोडएको पनि छ । देश बिगार्नेदेखि राष्ट्र सिँगार्नेहरूका नाम फूलसँग सम्बन्धित देखिन्छन् । फूलमाया, फूलमति, फूलकुमारी, पुष्पबाट पुष्पा, कमलबाट कमला, लिलि, रोज, ज्यासमिन कुसुम, पुष्पराज,पुष्पकमल, पुष्पलाल यावत नामहरूले फूलकै समर्थन गर्छ भन्ने मेरो चिन्तन रहेको छ । मेरो विद्यालय जीवनमा एकजना शिक्षक थिए । अलि मोटा, हठी, जिद्धी, खाइलाग्दा प्रायः सबैलाई हेरेकै भरमा तर्साउँथे नसके मुक्काबाजी बर्साउँथे । शारीरिक अंग प्रत्याङ्ग चलाउनु उनका लागि सामान्य थियो । तिनी अहिले पनि शिक्षक नै छन् । तिनको नाम हुनुपर्ने हठीबहादुर, वीरबहादुर, ज्यानबहादुर अलि मान पनि खोज्ने भएकाले मानबहादुर । तर, अफसोच उनको नाम पनि फूलसँगै सम्बन्धित थियो । तिनको नाम मैलै यहाँ किन उवाच गरिन भन्ने लाग्यो होला । चिन्ता नगर्नुहोस् । त्यसका लागि अर्को अध्याय तयारी गरिरहेको छु पूर्णाङ्कमा व्याख्या गर्नेछु । हुन त फूलसँग सम्बन्धित हुँदैमा मान्छेहरू कहाँ फूलजस्तै सुन्दर, कोमल र सुवासित हुन्छन् र ? हुनेभए यो देशमा थुप्रै पुष्पधारीहरू किन असुन्दर, बेरसिला, सुवासहीन ? नामअनुसारको काम हुँदैन र नहुँदो पनि रहेछ । हुनेभए धनलक्ष्मीहरू किन गरिब ? वीरबहादुरहरू किन काँतर कमजोर ? बुद्धिराजहरू किन मूर्ख ? देशभक्त भन्नेहरू किन देशद्रोही ? राम भन्नेहरू किन रावणजस्ता ? कृष्णभन्नेहरू किन कंशजस्ता ? बुद्ध भन्नेहरू किन बुद्धुजस्ता ? पुष्पध्वजहरू किन पलासँजस्ता सुगन्धहीन ?