आज : २०७५ श्रावण ४ शुक्रबार | Today: 20th Friday, 2018

अन्तर्वार्ता -- संचार माध्यम लेख्न जान्दैनन् : निजी स्कुलका विद्यार्थी पढ्न जान्दैनन्

ललितपुर जिल्लाको शंखु गाविस (हाल कोन्ज्योसोम गाउँपालिका) मा जन्मनु भएका नवराज क्षितिजले नेपाली विषयमा प्रथम श्रेणीमा एम.ए./बी.एड् गर्नु भएको छ । विगत एक दशकदेखि शिक्षण, पत्रकारीता साथै विभिन्न पुस्तकहरुमा भाषा सम्पादन समेत गर्दै आउनु भएका उहाँ हाल रेडियो कार्यक्रम निर्माता÷प्रस्तोता एवम् प्रशिक्षक पनि हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग नेपाली विषय र आमसञ्चार सम्बन्धी कमल राज दाहालले गर्नुभएको कुराकानी:

 


 
भर्खरै माध्यमिक शिक्षा परीक्षाको नतिजा आएको छ, समग्रमा  नेपाली विषयको नतिजा कस्तो छ ? 


सरकारी र निजी विद्यालयहरुको समग्र अध्ययन गर्ने हो भने राम्रो छ । भाषाको विषय हो, भनेजस्तै अंक नआउन सक्छ तर नतिजा हेर्दा खतम भएछ भन्ने ठाउँ देखिएको छैन । 

 

 

नेपाली विषयलाई विद्यार्थीले कसरी  लिन्छन् ? 


सरकारी विद्यालयका विद्यार्थीहरुले सहज नै लिन्छन्, तर निजीका लागि भने फलामको चिउरा जस्तै हुन्छ । उनीहरु कक्षा दशमा पुग्दा पनि नेपाली राम्ररी पढ्न र लेख्न सक्तैनन् ।

 

 

यस्तो समस्या किन आएको होला त ?


विद्यालयमा एक दिनमा कम्तिमा आठ विषय पढाई हुन्छ । त्यसमा एकघन्टी नेपाली हुन्छ । बाँकी सबको माध्यम अंग्रेजी छ । अनि निजी विद्यालयमा एकघन्टी बाहेक नेपाली बोल्न पनि निषेध हुन्छ । कतिपय निजी विद्यालयमा त नेपाली बोल्दा विद्यार्थीले भौतिक तथा आर्थिक दण्ड समेत पाउँछन् अनि कसरी आउँछ उत्कृष्ट नतिजा ?

 


 
त्यसो भए अंग्रेजीले नेपालीलाई खाएको हो ? 


त्यसो भन्न खोजेको होइन, नेपाली विषयलाई कुनै पनि विद्यालयले प्राथमिकताको सूचीमा राख्दैनन् यहाँसम्म कि विद्यार्थी र अभिभावकलाई समेत नेपाली विषयमा उत्तीर्ण मात्र भए पनि हुन्छ भन्ने मानसिकता देखिन्छ । अर्को कुरा विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा समेत नेपाली भाषा, कला, साहित्य सिर्जनात्मक लेखन आदि गराउन सकिन्छ । यस्ता कुरामा प्रायः विद्यालयहरु चुकेका छन् । साना कक्षाहरुमा नेपाली वर्णविन्यासको सही सिकाई हुन नसक्दा पनि पछि समस्या आएको देखिन्छ । 

 

 


के नेपाली विषयमा उत्कृष्ट नतिजा ल्याउन नसकिने नै हो त ? 


सकिन्छ, कति विद्यार्थीले निजी स्कुलबाटै पनि ल्याएका छन्, जसको सानो कक्षाको आधार राम्रो छ ।  ठूलो कक्षामा अक्षर पढ्न सिक्ने होइन, त्यहाँ त विषय खोतल्न विवेचना गर्न अनि विचार राख्न सिक्ने हो, भाव अभिव्यक्त गर्ने हो अनि तर्क गर्ने हो । जसलाई नेपाली शुद्ध  पढ्न र लेख्न आउँदैन उसले विवेचना एवम् समीक्षात्मक, आलोचनात्मक र तार्किक उत्तर दिन सक्तैन । अर्को कुरा नेपाली विषय भनेको साहित्य मात्र होइन व्याकरण पनि हो यसमा नियम हुन्छ गणितमा जस्तै । जसले व्याकरणको नियम जान्दछ उसले स्तरीय र सिर्जनात्मक भाषामा पनि लेख्नसक्छ र उत्कृष्ट नतिजा पनि ल्याउन सक्छ । 

 

 

सिर्जनात्मक लेखनको बारेमा अलिकति बताई दिनुहोस् न ।


सामान्य भाषामा भन्दा सिर्जना भन्नाले निर्माण गर्नु वा बनाउनु भन्ने बुझिन्छ भने सिर्जनात्मक उत्तरले चाहिँ आफ्नो सार्वजनिक बुझाईको मौलिक लेखाइलाई बुझाउँछ । नबुझी घोक्नुभन्दा बुझेका कुरालाई आफ्नै शैली, मौलिकता, क्षमता एवम् व्यावहारिक ज्ञान वा सीपका आधारमा लेख्नु चाहिँ सिर्जनात्मक लेखन हो । जहाँ विद्यार्थीको स्वतन्त्र एवम् निजी शैली हुन्छ भने शिक्षक मार्गनिर्देशक मात्र हुन्छ  । 

 

 

तपाई सञ्चारकर्मी एवम् भाषा सम्पादक पनि हुनुहुन्छ, नेपालको सन्दर्भमा आमसञ्चार र नेपाली विषयको सम्बन्ध छ कि छैन ? 


अवश्य छ । सञ्चारमाध्यमा लेखिएका र बोलेका कुराबाट धेरै कुरा सिकिन्छ । त्यहाँ प्रयोग भएका भाषा, शैली, शुद्धता, गति, यति, लयजस्ता कुराले स्रोता तथा पाठकमा छाप पार्छ । यदि सञ्चार माध्यमले शुद्ध नपढिदिँदा वा नलेखिदिँदा पाठक वा स्रोताले जे देख्छ वा सुन्छ त्यस्तै प्रयोग गर्छ । त्यसकारण सञ्चारमाध्यको काम बोल्ने र लेख्ने मात्रै होइन शुद्ध भाषाको प्रयोग गर्ने पनि हो । खास किसिमका मनोरञ्जनात्मक एवम् विभाषी बाहेकका कार्यक्रममा शुद्धता अनिवार्य सर्त हो ।

 


 
के सञ्चार माध्यम यस्ता कुरामा संवेदनशील छन् त ? 


यस्ता कुरामा सञ्चार माध्यम शत प्रतिशत सही छन् भन्दिन म । केही नढाँटीभन्दा केही सञ्चारमाध्यमका प्रस्तोताको भाषा तथा उच्चारण सुन्दा दिक्क लाग्छ । राम्रोसँग नेपाली भाषाको वर्णविन्यास उच्चारण गर्न नजान्नेहरुसमेत समाचार तथा साहित्यिक कार्यक्रमहरु चलाउनुहुन्छ । सञ्चार क्षेत्रमा  राजनीति र नातावादको हाबी बढेको गन्ध आउँछ । 

 


तपाईं आफैं पनि सम्पादक हुनुहुन्छ, अनलाइन मिडियाको भाषाको शुद्धतालाई कसरी हेर्नुभएको छ ? 


यसको कुरा नगरौँ । नेपाली भाषाको भाँडभैलो हेर्ने हो भने अनलाइन मिडिया हेरे हुन्छ । त्यहाँ कहीँ नभाको जात्रा भेटिन्छ । सम्पादनका ‘स’ नजानेकाहरु प्रधान सम्पादक बनेका छन् । सम्पादन भनेको ह्रस्व दीर्घ मात्र मिलाउनु होइन । त्यहाँ त भाषाको भाव वा अर्थको उचित प्रयोगदेखि संरचनागत संगति समेत मिलेको हुनुपर्छ ।

 

 

यसलाई नियमन गर्ने निकाय छैन र ? 


छ, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग, प्रेस काउन्सिल आदि निकायहरु छन् तर तिनीहरुको निरीक्षण ज्यादै फितलो छ । कहिलेकाहीँ लाग्छ प्रेसको नाममा केही अनलाइन र केही पत्रपत्रिकाहरु भाषा र व्याकरणमा हिलो छ्यापिरहेका छन् । 

 

 

अन्त्यमा नेपाली भाषालाई बचाउन र संरक्षण गर्न के गर्नु पर्ला ? 


अंग्रेजी बोलेर देश विकास हुँदैन । अंग्रेजी वा अन्य भाषा सिक्नु राम्रो हो तर आफ्नो कला, साहित्य र भाषा तथा वाङ्मय हाम्रो पहिचान हो भन्ने कुरा हामीले भुल्नु हुँदैन । नेपालको सन्दर्भमा भन्नुहुन्छ भने निजी विद्यालयमा बाहेक कुनै कार्यालयमा अंग्रेजी वा अन्य विदेशी भाषाको प्रयोग भएको देखिँदैन । फेरि हामी विद्यालयमा विद्यार्थीलाई जबर्जस्त अंग्रेजीको चक्की खुवाइरहेका छौँ । त्यसैले नेपाली भाषाको संरक्षण एव् संवद्र्धन गर्ने हो भने हाम्रा विद्यालयका हरेक तहमा न्युनतम दुई सय पूर्णाङ्कको नेपाली विषय अध्यापन गर्नु आवश्यक देखिन्छ भने विश्वविद्यालय तहमा आवश्यकता हेरी पाठ्यक्रम निर्माण गर्न सकिन्छ र अर्को कुरा सञ्चार माध्यममा पनि छुट्टै किसिमको अनुगमन आवश्यकता  देखिन्छ ।