आज : २०७५ असार ९ शनिबार | Today: 23rd Saturday, 2018

प्रधानमन्त्री ओलीको चीन भ्रमण आगामी मंगलबार

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । 

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनुहुनेछ । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । 

परराष्ट्र मन्त्रालयका अनुसार उहाँले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नुहुनेछ । 

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नुहुनेछ । त्यहाँ उहाँले तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता हुनुहुनेछ । 

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कनेछ । 

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चिनफिङले अघि सार्नुभएको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिनुभयो । 

उहाँले राजनीतिक विषयका साथै नेपाल–चीन सम्बन्धका सबै पक्षमा सघन छलफल हुने बताउनुभयो । 

 

प्रधानमन्त्रीको चीन भ्रमणमा ऊर्जा सहयोगदेखि रेलमार्ग निर्माण समझदारीसम्मका मुद्दा

 

ऊर्जा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

 

प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ ।

समझदारीपत्रमा हस्ताक्षरका लागि नेपाली पक्षबाट सबै तयारी पूरा भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

 

व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल


प्रधानमन्त्रीका रूपमा ओलीको पहिलो चीन भ्रमणमा नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौता गर्ने समझदारी भएको थियो । अहिले उक्त सम्झौताको प्रोटोकल तयार पारिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि सैँजूले बताए ।

 

मितेरी र रसुवागढी पुल निर्माण सम्झौता


चीन भ्रमणमा तातोपानीस्थित मितेरी पुल र रसुवागढीमा स्याफ्रुबेँसी जोड्ने पुल निर्माणको प्राविधिक र आर्थिक सहयोगसम्बन्धी सम्झौता हुने निश्चित छ । यस्तै, रसुवागढीदेखि स्याफ्रुबेँसीसम्मको १८ किलोमिटर सडक निर्माणबारे पनि सम्झौता हुने सम्भावना रहेको सडक विभाग, पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए ।

 

गल्छी-रसुवागढी-केरुङ प्रशारण लाइन


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार गल्छी-रसुवागढी-केरुङ चार सय केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन आयोजनाबारे पनि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुन सक्नेछ । उक्त आयोजनाबारे नेपाल विद्युत् प्राधिकरण र चीनको स्टेट ग्रिडबीच छलफल र सम्भाव्यता ९प्रारम्भिक० अध्ययनसमेत भइसकेको छ । सम्बन्धित निकायले आवश्यक देखे प्रक्रिया अघि बढ्ने ऊर्जाका अधिकारीहरूको भनाइ छ ।

 

किमाथांका अरुण जलविद्युत् आयोजना


प्रधानमन्त्रीको चीन भ्रमणमा उपहारको रूपमा ४ सय ५० मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव गर्ने तयारी छ । यो आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत निर्माणको प्रस्ताव गरिसकेको छ ।

 

‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा


चीनस“गको हिमाली क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा विकास, निर्माण तथा सामान ढुवानीसम्बन्धी पुरानो सम्झौतालाई अझ स्तरोन्नति गर्ने र नाका थप गर्ने विषय पनि भ्रमणको एजेन्डा बन्न सक्नेछ । त्यसबारे छलफल गर्न सोमबार नै मन्त्रालयका सहसचिव गोपाल सिग्देलको नेतृत्वमा एक टोली चीन गएको छ ।

 

काठमाडौं-केरुङ रेलमार्ग निर्माण समझदारी

 

रेल विभागका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंदेखि केरुङसम्मको रेलमार्ग निर्माणको समझदारी (मेमोरेन्डम अफ अन्डरस्ट्याडिङ) हुने सम्भावना छ । नेपाल र चीन जोड्ने उक्त रेलमार्गमा पछिल्लो समय पूर्वसम्भाव्यता अध्ययनअन्तर्गत स्थलगत काम सम्पन्न भइसकेको छ ।

 

रसुवागढी-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग


आर्थिक वर्ष ०७५(७६ मा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको डिपिआर तयार गरी निर्माण सुरु गर्ने योजना सरकारले सार्वजनिक गरेको छ । आगामी आवको बजेटमा समेटिएको उक्त घोषणाअनुसार अध्ययनको काम थालनी गर्नुपर्नेछ । त्यसैले, प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा बन्न सक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

 

बिप्पा नेपालको र स्वतन्त्र व्यापार सम्झौता चीनको प्राथमिकता

 

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच लगानी प्रवद्र्धन तथा सुरक्षण प्रत्याभूति सम्झौता ९बिप्पा०लाई नेपालले प्राथमिकतामा राखेको छ । तर, चीनले भने बिप्पालाई कम तर स्वतन्त्र व्यापार सम्झौतालाई बढी प्राथमिकतामा राखेको छ । चीनले ०६९ सालमै बिप्पाको मस्यौदा पठाएको थियो । बिप्पा सम्झौताको मस्यौदा आदान–प्रदानसमेत भइसकेको उद्योग मन्त्रालयका एक अधिकारीले बताए ।

 

चीन र नेपालको निजी क्षेत्रबीच ४० अर्बको संयुक्त लगानी सम्झौता हुने

 

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा दुई मुलुकका निजी क्षेत्रबीच नेपालमा ४० अर्ब रुपैयाँ लगानी गर्नेबारे समझदारी हुने भएको छ । चीन भ्रमणको अवसर पारेर कम्तीमा तीनवटा जलविद्युत् परियोजनामा संयुक्त लगानी गर्ने गरी समझदारी हुने निश्चित भएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । तीनवटा जलविद्युत् परियोजनाबाहेक पनि सिमेन्टलगायत अन्य उद्योगमा समेत संयुक्त लगानीको सम्झौता हुन सक्ने उनले बताए । नयाँ पत्रिकामा खबर छ