आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

‘मलमासले हनिमुन मनाउन पाइएन’

हास्य सिरियलमा परिचित मरिचमान श्रेष्ठ एक्लोबाट दुक्लो भए वैशाखमा । गोरखा निवासी उनी जम्प हानेर लम्जुङ पुगे ससुराली बनाउन । १० कक्षा पढ्दै गरेकी किशोरी करुणा खड्काको मन कब्जा गरेका उनले उनै किशोरी वयस्क भएपछि विवाह गरे उनले । यी जोडीको दैनिकी कस्तो चल्दैछ अहिले, भोला अधिकारीले दुवै नवदुलाहा–दुलहीसँग गरेको अन्तरंग संवाद ।



बिहे गरियो है !
अँ गरियो ।

 

६–६ वर्षसम्म कसरी लुकाउनु भयो प्रेम सम्बन्ध ?
घर परिवारलाई त थाहा थियो ।

 

तपाई गोर्खाको, श्रीमती लम्जुङकी । जोडी कसरी जु¥यो ?
म लमजुङ जिल्लामा कार्यक्रमका लागि गएको थिएँ । त्यहाँ निकै दिन बसियो । स्कुल पढ्दै गरेकी एक युवती मन पर्यो  तर प्रेम नै हुन्छ भन्ने चैँ थिएन ।

 

करुणाजीलाई पनि सोधांै है ! झट्ट हेर्दा ‘बल्छी धुर्बे’ वाह भनिहाल्नुपर्ने खालका छैनन् । पहिला देख्दा कस्तो लागेको थियो ?


त्यस्तो केही लागेन । कार्यक्रमका लागि लमजुङ आएको बेलामा छिमेकी पर्ने दाइले ‘उहाँ बल्छी धुर्बे’ भनेर चिनाउनु भएको थियो । मान्छे कालो–कालो । प्रेम सम्बन्ध नै होला भन्ने त लागेकै थिएन । फोन नम्बर थियो । बिस्तारै कुराकानी हुन थाल्यो । एसएलसी सकिएपछि काठमाडौँ आउनु नै थियो । उहाँले पनि काठमाडौँ आउन फोर्स गर्नुभयो । पढ्नलाई यतै आएँ । यतै आएपछि बिस्तारै माया–पिरती गाँसियो ।

 

पहिला काले–काले लागेको व्यक्तिसँग मन चैँ कसरी साटियो त ?
काठमाडौं आएपछि उहाँबारे जान्ने मौका पाएँ । उहाँ जस्तो हो, त्यस्तै देखिनुहुन्छ । त्यही सरल व्यवहारले मन लोभ्यायो भनौं ।

 

बल्छीजी, समाज आधुनिक देखिए पनि व्यवहारमा त अझै कठिन छ । तपाई नेवारी समुदायको, करुणाजी क्षत्री समुदायको । सहजै विवाह भयो कि पापड बेल्नुपर्यो  ?
हामी भागेर विवाह गर्ने पक्षमा थिएनौं । परिवारले मान्छ भन्ने नै थियो । तर परिवारलाई हुन्छ भन्ने बनाउन एउटा युद्ध जित्न जति सकस हुन्छ त्यस्तै भयो नि ! विवाहका लागि मनाउन मात्रै डेढ वर्ष लाग्यो । अहिलेका ससुरा बासँग विवाहको कुरा गर्न गएको, सिरियलमा हेरेको टाटेपाटे कपडा लगाएर हिँड्ने बल्छी धुर्बे भनेर पत्याउनु नै भएन ।

 

अनि तपाईंको घरमा चैँ सहमति थियो त ?
कहाँ हुनु ? उस्तै त हो । बुबाले ए नेवारको छोरो भएर क्षत्रिनी बिहे गर्ने ? त्यसलाई ठीक नपारी भनेर थर्काउनुसम्म थर्काउनुभयो नि !

 

करुणाजीको घरको प्रतिक्रिया के थियो ?
आमाबाबुलाई छोरी राम्रो जागिर खाएको केटो होस् भन्ने त लागिहाल्छ । अलिक धेरै पढेको हेन्डसम होस् भन्नुहुन्थ्यो । त्यसमा पनि हाम्रो परिवारमा अन्तर्जातीय विवाह गर्ने कोही थिएनन् । त्यसैले त मनाउन समय लाग्यो ।

 

अनि कसरी माने त दुवैको परिवार ?
उता करुणाको बैनीले फकाइन्, यता मेरा दाइले फकाउनुभयो । जति गरे पनि यी मान्ने रहेनछन् भनेपछि दुवैतिरको परिवार सहमतिमा आयो । अनि झ्याइँ पारिहालियो नि !

 

करुणाजीलाई प्रेम सम्बन्ध हुनुअगाडि ‘बल्छी धुर्बे’ विजातीय हुन् भन्ने थाहा थिएन ?
हो कि झैँ लागेको थियो तर नेवार नै हुन् भन्ने चैँ लागेको थिएन । टेलिफिल्ममा नाम मात्र आउँथ्यो थर आउँदैनथ्यो । हाउभाउ देख्दा माझी हुन् कि जस्तो लागेको थियो तर नेवार हुनुहुँदोरहेछ ।

 

अपरिचित घरमा बुहारी भएर जाँदा कस्तो फिल हुने रहेछ त ?
मनमा अलिक डर–डर, कस्तो–कस्तो लागेको थियो तर गोरखाको घर पुगेपछि विवाह गरेझैँ फिल नै भएन । आफ्नै परिवारको सदस्यझैँ व्यवहार गरेपछि विजातीय परिवारमा बुहारी बनेर आएको छु भन्ने अनुभव नै भएन ।

 

कलाकार हनिमुन मनाउन हतार गर्छन् । तपाईंहरु त अन्तर्वार्तामै व्यस्त हुनुहुन्छ । बिहेअगाडि नै हनिमुन मनाइसक्नु भएको थियो कि क्या हो ?
छैन । बिहे पछि घुम्न जाने योजना थियो । बिहे गरेको ४ दिनमै मलमास लाग्यो । उनी लमजुङ, म गोरखा । अब चाँडै कतै जाने प्लान बनाउँदै छौँ ।

 

मरिचमानजी, उमेर ढल्किएपछि विवाह गर्नुभयो । अलिक ढिला भएन र ?
म अहिले करिब ३१ वर्ष पुगेँ तर उनी भर्खर २२ वर्ष पुग्दैछिन् । नेपालमा विवाह गर्ने उमेरअनुसार मेरो हकमा ढिलै भएको हो । उनलाई बिहे गर्न चाहिँ अलिक छिटो भो ।

 

कलाकार मान्छे । फ्यान पनि राम्रै छन् । करुणाबाहेक अन्यले आइलभयु भनेनन् ?
किन नभन्नु ? किसै खाएका छन् नि ! आँबुखैरेनीमा कार्यक्रमका लागि गएको थिएँ । स्टेज पछाडिबाट केटीहरुको एक हुलले बोलाए । किन भनेर गएको त उनीहरुले हामी तपाईंलाई किस गर्र्न आएको भनेर च्याप्प समातेर किस खाइदिए । धरानको कार्यक्रममा जाँदा पनि त्यस्तै भयो । मैले यो कुरा करुणालाई सुनाएँ । गाली गर्छिन् होला भनेको त हाँसिन् पो !

 

विवाहअगाडि दैनिक रिर्पोटिङ हुन्थ्यो कि ?
प्रायः सुनाउँथे । मनका कुरा राख्दैनथेँ । उनले पनि सुनाउँथिन् ।

 

केही ढाँटेझैँ लाग्दैनथ्यो करुणाजी ?
लाग्दैनथ्यो । उहाँ मनको सफा मान्छे हो । उहाँको सफा मन देखेरै मन पराएको हो मैले । त्यस्तो ढाँट्ने मान्छे भएको भए कार्यक्रममा जाँदा अरु केटीले किस खाए भनेर किन भन्नुहुन्थ्यो होला र !

 

प्रेमीप्रेमिकाहुँदा कत्तिको झगडा पर्थ्यो ?
झगडा त पर्थो नि ! तर धेरै लामो समयसम्म पर्दैनथ्यो ।

 

झगडा भएपछि कसले पहिला फकाउँथ्यो ?
(करुणा अगाडि सरिन्) रिसाए पछि मैले नै बोलाउने हो । रिसाउने भनेको २÷४ घण्टासम्म मात्रै हो । म मनमा रिस लिएर बस्नै सक्दिनँ । उहाँ रिसाएपछि बोल्दै नबोल्ने । फोन गर्दा उठाउँदै नउठाउने ! नउठाएपछि मैले मोबाइलमा म्यासेज गर्थें । यति लामो म्यासेज गर्दा उहाँले पठाउने भनेको रिप्लाईमा ए, बि भनेर रिप्लाई आउँथ्यो ।

 

फोन नउठाउँदा तनाब हुन्थ्यो होला है ?
फोन नउठाउँदा तनाब त भइहाल्छ नि ! तर फकाउन त म माहिर थिएँ । धेरै समयसम्म हाम्रो रिस रहँदैनथ्यो ।

 

करुणाजी राम्री हुनुहुन्छ, उहाँबाहेक अरुको पनि प्रेम प्रस्ताव आए होलान् नि ?
प्रेम प्रस्ताव त्यस्तो विधि आएन तर सिधै बिहेको प्रस्ताव भने आएका थिए । काठमाडौंमा हुँदा कतै जाँदा उहाँ (मरिचमान)ले नै लैजानुहुन्थ्यो । धेरैले बल्छी धुर्बेसँग यसको लभ परेको छ भन्थे । घरमा बिहेको प्रस्ताव आइरहन्थ्यो ।

 

करुणाजी, अफेयर्सको समयमा कत्तिको गिफ्ट आदानप्रदान हुन्थ्यो ?
उहाँ दुबई कार्यक्रममा गएर आउँदा मलाई एउटा सानो पर्स ल्याइदिनु भएको थियो । मैले लाफिङ बुद्ध उपहार दिएकी थिएँ । त्यही हो गिफ्ट ।

 

के हो ममिरचमानजी यो त पुरानो शैलीको प्रेम भएन र भन्या ?
हाम्रो माया प्रेम ९० सालको जस्तै हो । उनको जन्मदिनमा म कार्यक्रममा हुन्थेँ । कहिले कता पुग्ने कहिले कता पुग्ने । कहिलै त्यो गिफ्ट दिने–लिने नै भएन ।

 

अब तपाई कलाकारितामा हुनुहुन्छ ? धेरै कलाकारले श्रीमतीलाई कलाकार बनाउने गरेका छन् ? श्रीमतीलाई पनि आफ्नै क्षेत्रमा ल्याउने कि बल्छीजी !
उनी शिक्षिका हुन् । मलाई शिक्षिका मन पर्छन् । उनी कलाकारितामा आउँदा पनि आउँदिनन् ।

 

करुणाजी, कलाकार बन्ने इच्छा छैन र ?
त्यस्तो सोच छैन । शिक्षिकाको पेसा नै ठीक लाग्छ । श्रीमान् कलाकार हुँदैमा श्रीमती पनि कलाकार हुनुपर्छ भन्ने छैन । म अहिले पढ्दै पनि छु, स्कुलमा पढाउँदै पनि छु । भोलिका दिनमा व्यापार गर्ने सोच छ ।


बिहे प्रसंगमा नै जोड्न चाहेँ, करुणाजीले कतै बच्चाबच्ची ११ जना पाउने लक्ष्य छ भन्नुभएको थियो ।

फुटबल टिम नै बनाउने हो त ?
हा…हा…हा….मैले ११ जना भनेको होइन । १,२ जना भनेको हुँ । उहाँले जिस्केर ११ जना भन्नु भएको हो । त्यत्रो त कसरी पाउनु ?

 

अभिनयसँगै लेखन, निर्देशन अनि म्युजिकतिर पनि सक्रिय हुनुहुन्छ । कसरी मिल्छ समय, बल्छीजी ?
भने जस्तो सजिलो त कहाँ हुन्छ र ! तर जहाँ इच्छा, त्यहाँ उपाय । सिरियलमा हरेक हप्ता हँसाउने क्रिएसन चाहियो । हँसाउने शब्दहरु लेख्नु प¥यो । लेखेर मात्रै भएन, निर्देशनको कुरा छ । हरेक हप्ता आधा घण्टा कार्यक्रम बनाएर टेलिभिजनलाई दिनुपर्छ । कहिलेकाहीँ त फलामै चपाएझैँ हुन्छ ।

 

विवाह पनि २ पटक भयो रे हैन ?
खड्का परिवारको आफ्नै संस्कार, हामी नेवारको अर्कै । त्यसैले २ पटक विवाह भयो । पहिलो खड्का परिवारको रीतिअनुसार विवाह भयो । त्यसको केही दिनपछि नेवार परम्पराअनुसार फेरि विवाह भयो ।

 

अबको योजना के छ ?
म र राजु पौडेल (राजु मास्टर) दुवै जना फिल्मको स्क्रिप्टमा काम गरिरहेका छौँ ।

 

ए फिल्म बनाउने अब ? कस्तो ?
कमेडी नै हो ।


तपाईंहरु नै फिल्मको हिरोमा देखिने होला ?
अब हिरो बन्न अग्लो हुने राम्रो कद परेको हुनुपर्छ भन्ने छैन । स्टोरी राम्रो हुनुप¥यो । अभिनय दमदार हुनुपर्यो  । फिल्म चल्न गाह्रो हुँदैन । काठमाडौँका मान्छेलाई हास्न कहाँ फुर्सद छ र ? राम्रो फिल्म सिरियल बनाइयो भने उहाँहरु हाँस्न सक्नुहुन्छ ।