आज : २०७५ असार ९ शनिबार | Today: 23rd Saturday, 2018

आयोगका सदस्यहरूसहितको उच्चस्तरीय टोलीद्वारा नाजुक गंगामायाको अवस्था अनुगमन

काठमाडौं, २७ जेठ ।

छोरा कृष्ण प्रसाद अधिकारीको हत्याको छानविन र दोषी उपर कानुनी सजायको माग गर्दै लामो समय देखि वीर अस्पतालमा उपचाररत गंगामाया अधिकारी पछिल्लो पटक मिति २०७५ जेष्ठ १५ गते देखि पुनः अनशनमा बस्दा पटक–पटकको अनशनका कारण निजको स्वास्थ्य अवस्था अत्यन्त कमजोर र नाजुक बन्दै गएको प्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । निजको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगका माननीय सदस्यहरू श्री प्रकाश वस्ती र श्री गोविन्द शर्मा पौड्याल नेतृत्वको उच्चस्तरीय टोलीले आज पुनः वीर अस्पतलमा पुगेर अनुगमन गरेको छ । 

अनुगमनका क्रममा निज गंगामायाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर देखिएको शरीरका विभिन्न भागहरु सुन्निएको तथा एउटा खुट्टा नचल्ने अवस्थामा रहेको बुझिएको छ । 

सो सम्बन्धमा आयोगले सम्मानित सर्वोच्च अदालतको आदेशानुसार दोषी उपर कानूनी कारवाही प्रकृया अगाडी बढाउन र निजको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भर्र्ई निजको जीवन रक्षाको लागि तत्काल आवश्यक पहल गर्न आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । साथै आरोपित व्यक्तिहरुलाई कानूनी कारवाही गर्ने सम्बन्धमा के कसो भएको छ, त्यसको सम्पूर्ण विवरण तीन दिन भित्र उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई समेत आजै पत्राचार गरेको छ ।