आज : २०७५ भदौ ४ सोमबार | Today: 20th Monday, 2018

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

भीमदत्तनगर, २ जेठ: प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताउनु भएको छ । 

व्यापार तथा निकासी प्रवर्धन केन्द्र र कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘वस्तु निकासी र बजार विश्लेषण’ तालीमको मंगलबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन पहल गर्नुपर्दछ ।” 

पूर्ववाणिज्य तथा आपू्र्ति मन्त्रीसमेत रहनु भएका नेता भट्टले अन्तर्राष्ट्रिय माग अनुसार वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिँदै आफू मन्त्री भएका बेलामा नै दोधारा चाँदनीमा सुख्खाबन्दरगाह निर्माणको थालनी गरेको बताउनुभयो । 

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सुदूरपश्चिममा केन्द्रले विभिन्न सीपमूलक कार्यक्रम तथा प्रशिक्षण चलाइरहेको बताउनुभयो । 

“व्यापार घाटा रु आठ अर्ब नाघिसक्यो,” उहाँले भन्नुभयो, “व्यापार घाटालाई कम गर्न निकासीकर्तालाई समेत दक्ष बनाउन आवश्यक छ ।” 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले प्रदेश नम्बर ७ मा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको कार्यालय स्थापना गर्नुपर्ने माग गर्नुभयो । 

तालीममा निर्यात व्यापारमा संलग्न प्रदेश नं ७ का २० जना व्यावसायी सहभागी छन् ।  (रासस)