आज : २०७५ जेठ १२ शनिबार | Today: 26th Saturday, 2018

प्यारिसमा धारिलो हतियारले आक्रमणः एकको मृत्यु चार घाइते

प्यारिस, फ्रान्स, ३० बैशाखः फ्रान्सका अभियोजनकर्ताहरूले मध्य प्यारिसमा बाटोमा हिँडिरहेका मानिसहरूमाथि एक व्यक्तिले धारिलो हतियारले आक्रमण गरेको घटनाबारे आतंकवाद सम्बन्धी अनुसन्धान थालेका छन् । ती हमलामा एकजना ज्यान गएको थियो भने चारजना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति एमानुएल माक्रोँले फ्रान्सले फेरि पनि रगत तिर्नुपरेको भन्दै स्वतन्त्रताका विरोधीहरूसँग ’एक इञ्चले पनि नझुक्ने’ बताएका छन् ।

 

पर्यटकहरूको चहलपहल हुने प्यारिसको ओपेरा जिल्लामा उक्त घटना भएको हो ।

 

स्थानीय समय अनुसार राति साढे नौ बजे भएको घटनापछि प्रहरीले घटनास्थलमा घेराबन्दी गरेको छ ।

 

प्रत्यक्षदर्शीले धारिलो हतियारले हमला गर्ने व्यक्तिले ’अल्लाहु अकबर’ भनेर कराएको र उनलाई नियन्त्रण ‘स्टन गन’ को प्रयोग गरिएपनि त्यसले परिणाम नदिएपछि प्रहरीले गोली हानी मारिदिएको जनाएका छन् ।

 

आफ्नो समाचार संस्थामार्फत इस्लामिक स्टेट समूहले हमलाको जिम्मेवारी लिएको छ । फ्रान्सको प्रतिआतंकवाद हेर्ने निकायले उक्त आक्रमणमाथिको अनुसन्धानको नेतृत्व गरिरहेको छ ।