आज : २०७५ असार ९ शनिबार | Today: 23rd Saturday, 2018

कृषिमा भविष्य खोज्दै नमूना महिला कृषि समूह

नवराज क्षितिज/एग्रो टिभी नेपाल 

ललितपुर,२६ वैशाख ।

फोहोरमैला व्यवस्थापनका लागि प्रतिफलमा आधारित अनुदान परियोजनाले विश्वबैंकको सहयोगमा घरेलु फोहोरमैला व्यवस्थापनका लागि परिचालन कार्यक्रम अन्तर्गत ललितपुर महनगरपालिका वडा नं २९ नयाँबस्ती, हरिसिद्धिमा रहेको नमूना महिला कृषि समूहलाई प्राङ्गारिक मल बनाउने भाँडो (कम्पोस्ट बिन), झाडु लगायतका सामग्री वितरण गरेको छ । महनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद दाहालले उक्त सामग्रीहरु हस्तान्तरण गर्दै भन्नुभयो– “महानगरलाई हराभरा बनाउने काम अरु कसैले गर्ने नभई घरघरबाट गर्नुपर्छ । कृषि र वातावरण एकअर्काका पूरक भएकाले यी दुईको समन्वय गर्दै घरेलु फोहोरमैलालाई सही व्यवस्थापन गरी  वातावरण स्वस्थ राख्न सकिन्छ ।” 

कार्यक्रममा घरेलु फोहोरमैला परिचय, वर्गीकरण र त्यसको सही व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा समूहका सहभागीहरुलाई तालिम समेत दिइएको थियो । कृषि र वातावरणबीच नङ र मासुकोजस्तै सम्बन्ध  भएकाले घरबाट निस्कने कुहिने र नकुहिने फोहोरमैला छुट्याई कुहिनेबाट प्राङ्गारिक मल बनाई कौसी खेती लगायत अन्यत्र पनि प्रयोग गरी अग्र्यानिक तरकारी उब्जाउन सकिन्छ । यसो गर्दा बजारको विषादीयुक्त तरकारीबाट मुक्त मात्र नभई  स्वास्थ्य स्वस्थका साथै पैसासमेत बचत हुने र अर्कातिर वातावरणसमेत स्वच्छ हुने कुरा  समूहकी अध्यक्ष राधा ढकालले  बताउनुभयो । उहाँले भन्नुभयो–“हामी कृषिमा भविष्य खोजिरहेका छौं, जापान र अमेरिकामा बस्नेहरुलाई  यहीँ ल्याएर नेपालको कृषि र वातावरणको बारेमा अवलोकन गराउने अभियानमा छौँ । समय लाग्न सक्छ तर सबै एकजुट भएर लागेमा यो सम्भव छ ।”