आज : २०७५ बैशाख ७ शुक्रबार | Today: 20th Friday, 2018

सफलता हासिल गरेको ह्यान्डबल टोलीलाई सम्मान

काठमाडौँ, २५ चैत (रासस): नेपाल ह्यान्डबल संघले भारतको लखनउमा भएको पाँचौँ दक्षिण एसियाली महिला ह्यान्डबल च्याम्पियनसीपमा दोस्रो भएको नेपाली टोलीलाई आज सम्मान गरेको छ । 

यही चैत १७ देखि २१ गतेसम्म भएको खेलमा नेपाली ह्यान्डबलले अहिलेसम्मकै ठूलो उपलब्धि हात पार्ने क्रममा रजत जितेको थियो । यसअघि नेपाल ह्यान्डबलमा तेस्रोसम्म भएको थियो । 

नेपालले अफगानिस्तान, बंगलादेश र भुटानलाई पराजित गरेको थियो भने फाइनल खेलमा भारतसँग पराजय भोगेपछि दोस्रो स्थानमा रहन बाध्य बनेको थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलगायतले टोलीलाई माला, खादा र टीका लगाइ सम्मान गर्नुभयो । 

कार्यक्रमलाई मन्त्री विश्वकर्माले सीमित श्रोत र साधनका बाबजुद नेपाली खेलाडीले उल्लेखनीय सफलता हासिल गर्दै आइरहेको बताउँदै खेलाडीलाई खेल क्षेत्रबाट नै आफ्नो भविष्यको प्रत्याभूति हुने हिसाबले कार्य आरम्भ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

परिषद्का सदस्यसचिव विष्टले खेलाडीहरुले आफूभन्दा राम्रो सुविधा पाएका बलिया राष्ट्रलाई हराउँदै देशको गौरव बढाइ रहेको बताउँदै वर्तमान सरकारको पहिलो निर्णय नै खेलकूद भएकाले अब आउने बजेट नेपाली खेलकूदका लागि ऐतिहासिक हुने विश्वास व्यक्त गर्नुभयो । 

ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङले टोलीको सफलताले नेपाली ह्यान्डबलको मात्र नभई सिंगो राष्ट्रको शीर उँचो बनाएको धारणा व्यक्त गर्नुभयो । 

नेपाली टोलीमा उमा राई (कप्तान), बन्दना राई, जिना राई, निशा राई, कविता राई, शान्तिकला राई, देवकुमारी बाँस्कोटा, संगीता चौधरी, दुर्गा बोहरा, पार्वती चौधरी, कृष्णा चौधरी, कल्पना ओली, उमा राई, आइत लोमु शेर्पा र मञ्जु रावत रहेका छन् । प्रशिक्षकमा अरुणलाल कर्ण र रमेश सापकोटा हुनुहुन्छ ।