आज : २०७५ बैशाख ७ शुक्रबार | Today: 20th Friday, 2018

समृद्धिका लागि सुशासन अपरिहार्य

काठमाडौँ, २४ चैत (रासस): मुलुकको आर्थिक समृद्धिका लागि प्रभावकारी सुशासन अपरिहार्य भएको सरोकार भएका विज्ञहरुले औँल्याएका छन् । 

बौद्धिक वृत्त मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधानको कार्यान्वयनपछि देशको आर्थिक समृद्धि’ विषयक अन्तरक्रियाका वक्ताले समृद्धि प्राप्तिका लागि दीर्घकालीन गुरुयोजना बनाई त्यसको सफल कार्यान्वयनका लागि उपयुक्त आर्थिक प्रणालीको अवलम्बन गरिनुपर्नेमा जोड दिए । 

साथै, उनीहरुले विकास र समृद्धिबारे नेतृत्वले भाषणभन्दा पनि योजनाबद्ध कार्ययोजना, जनशक्ति विकास तथा स्रोत व्यवस्थापन गरी युद्धस्तरमा कार्यसम्पादन गरिनुपर्ने सुझाए । 

कार्यक्रममा पूर्व मुख्य सचिव डा विमल कोइरालाले मुलुकमा उपलब्ध स्रोत र साधनको उचित व्यवस्थापन र परिचालनबिना भाषण र नाराले मात्र समृद्धि हासिल नहुने तर्क गर्नुभयो । 

शासन व्यवस्थामा सुधार नआएसम्म आर्थिक समृद्धि सम्भव नरहेको भन्दै उहाँले सीमित सम्भावना भएको मुलुक नेपालको चलाखीपूर्ण ढंगले अधिक आर्थिकीकरण गरेर समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

“समृद्धि रटानले मात्र हुँदैन, समृद्धि कसका लागि केका निम्ति महत्वपूर्ण हो सुशासन प्रभावकारी र जनताप्रति उत्तरदायी नभइकन ठूला आकांक्षाले मात्र समृद्धि हुँदैन त्यसका लागि विकास र समृद्धिका योजनाबद्ध कार्यक्रम र प्रतिबद्धता व्यवहारमा उतार्न जरुरी छ”, पूर्व मुख्यसचिव कोइरालाले भन्नुभयो । 

इन्जिनियर गोविन्द शर्मा पोखरेलले कृषि, ऊर्जा, पर्यटनजस्ता महत्वपूर्ण क्षेत्रका ठूला आयोजना निर्माणका लागि दीर्घकालीन योजनाका साथ कामलाई अघि बढाइनुपर्ने खाँचो औँल्याउनुभयो । 

उहाँले विदेशी लगानी बढाएर मात्र नेपाली आयोजनाबाट लाभ लिन नसकिने भन्दै कुनै परियोजनामा लगानी गर्नु पहिला पर्याप्त गृहकार्य गरेरमात्र ठूला आयोजनामा विदेशी लगानी भित्र्याइनुपर्छ भन्नुभयो । 

मानवाधिकारकर्मी सुबोधराज प्याकुरेलले आर्थिक समृद्धिका लागि धनी र गरिबबीचको खाडल अन्त्य गरी सुशासनलाई समयसापेक्ष सुदृढ तुल्याइनु पर्ने खाँचो औँल्याउनुभयो । 

विकासविद् तेजबहादुर ढकालले ‘जनताको समृद्धि’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै समृद्धिको साझा परिभाषा, सूचक र परिसूचक निक्र्योल गरी दीर्घकालीन गुरुयोजनाका साथ त्यसको सफल कार्यान्वयनको आधार तयार गरिनुपर्नेमा जोड दिनुभयो ।